कांग्रेसका जेन–जी युवाहरूको मागः ‘विधान संशोधन गरेर हाम्रो लागि प्रवेशको ढोका फराकिलो पारियोस्’



काठमाडौं, १३ कात्तिक । नेपाली कांग्रेसका जेन–जी (Gen Z) उमेर समूहका प्रतिनिधिमूलक युवाहरूले पार्टीभित्र आफ्नो सहभागिता सुनिश्चित गर्न विधान संशोधनको माग गरेका छन् । उनीहरूले पार्टीलाई यौवन र ऊर्जा पुनःस्थापना गर्न केन्द्रीय समितिले विधान संशोधनमार्फत सबै तहमा प्रतिस्पर्धामूलक सहभागिता सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले “#GenZFor7D” अभियान अघि सारेका छन् । उक्त ‘७D’ को अर्थ Democracy, Development, Dedication, Dignity, Discipline, DeliveryDigital Transformation रहेको छ । उनीहरूले जेनजी आन्दोलनमा सहादत प्राप्त युवाप्रति सच्चा श्रद्धाञ्जली दिन भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना नै अबको मुख्य लक्ष्य बन्नुपर्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मूल माग थियो । त्यसैले कांग्रेसले आफैंभित्र पनि आन्तरिक सुशासन आयोग गठन गरी तीनै तहका प्रतिनिधिको विगत र भविष्यको मूल्यांकन गर्ने, प्रोत्साहन, चेतावनी र कारबाही सिफारिस गर्न सक्ने संयन्त्र बनाओस् ।”

उनीहरूले भदौ २३ गते नयाँ बानेश्वरमा भएको प्रदर्शनमा गरिएको अत्यधिक बल प्रयोगको गहिरो छानबिन र दोषीमाथि कारबाहीको मागसमेत दोहोर्याएका छन् । साथै, भदौ २४ गतेको प्रदर्शनमा घुसपैठ गरी तोडफोड र आगजनीमा संलग्न जोकोहीमाथि पनि कानूनी कारबाही हुनुपर्ने उनीहरूको जोड छ ।

युवाहरूले कांग्रेसले सबै प्रकारका भ्रष्टाचार प्रकरणको निष्पक्ष छानबिनमा स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने र त्यसका लागि पहल गर्नुपर्ने पनि माग गरेका छन् । साथै, नियमित वा विशेष महाधिवेशन अविलम्ब आह्वान गरी परम्परागत सोचबाट बाहिरिएर आधुनिक र ऊर्जावान दलको रूपमा अघि बढ्ने रोडम्याप सार्वजनिक गर्न कांग्रेस नेतृत्वलाई आग्रह गरेका छन् ।

उनहरूको अर्को प्रमुख सुझावमा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचन सुनिश्चित गर्न पार्टीले अग्रसर हुनुपर्ने र त्यसका लागि “भोट रेडी नेपाल” अभियान सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, कांग्रेसको नर्सरी मानिएको नेपाल विद्यार्थी संघलाई पुनःसंरचना गरी नवयुवाहरूलाई आकर्षित गर्ने व्यवस्था गर्नुपर्ने माग पनि उठाइएको छ ।

उक्त पत्रकार सम्मेलनमा विकल राई (खोटाङ), साजन योञ्जन (सिन्धुपाल्चोक), विनोद राज जोशी (दार्चुला), करुणा कटुवाल (धनकुटा), श्रीकृष्ण भट्टराई (रुपन्देही), दिनेश चौधरी (बर्दिया), मनोज पुरी (काठमाडौं), मञ्जु विश्वकर्मा (कपिलवस्तु), करिना पुरी (सिन्धुपाल्चोक), सिर्जना स्नेही (बझाङ), गौरव पाण्डे (बारा), मुना नेपाली (पाँचथर), विजय पुन मगर (जाजरकोट), किरण तिवारी (रुपन्देही), नीलम कार्की (झापा), सन्तोष भण्डारी (गुल्मी), आशा नामजाली मगर (कैलाली), दिपेन धिमाल (झापा) र सुशिल गोदार (कास्की) सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्