
काठमाडौं, १३ कात्तिक । मलेसिया सरकारले हालै जारी गरेको १० बुँदे मापदण्डसहितको पत्रबारे नेपाल वैदेशिक रोजगार व्यवसायी संघ परिवारले गम्भीर आपत्ति जनाएको छ । संघले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उक्त पत्रले मलेसियाको रोजगारीमा सिण्डिकेट स्थापना गर्ने प्रयास भएको स्पष्ट गरेको दाबी गरेको हो ।
संघका अनुसार मलेसिया सरकारको विदेश मन्त्रालयले २७ अक्टोबरमा मलेसियास्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई पठाएको सो पत्रमा केही सीमित व्यवसायीलाई मात्र रोजगारीसम्बन्धी काम गर्ने अनुमति दिने तयारी गरिएको छ । संघले यसलाई ‘सिण्डिकेट खडा गर्ने अस्वीकार्य प्रयास’ भनेको छ ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मलेसिया सरकारको प्रस्तावले नेपाललगायत स्रोत मुलुकहरूमा सिण्डिकेट स्थापना गरी केही सीमित व्यक्तिहरूको पक्षपोषण गर्ने संकेत दिएको छ, जसले निष्पक्ष प्रतिस्पर्धा, पारदर्शिता र समान रोजगारी अवसरको सिद्धान्तलाई कमजोर पार्छ र नेपालको संविधानले निषेध गरेको एकाधिकार प्रणालीलाई प्रोत्साहन दिन्छ ।”

संघले नेपाल सरकारबाट इजाजत प्राप्त व्यवसायीहरू कानूनी प्रक्रिया र सरकारी नीतिअनुसार वैदेशिक रोजगार क्षेत्रमा पारदर्शी रूपमा कार्यरत रहेको उल्लेख गर्दै भनेको छ, “केही मुठ्ठीभर व्यवसायी वा गैरव्यवसायीलाई मात्र फाइदा पुर्याउने षड्यन्त्रले व्यवसायीहरूको स्वतन्त्र व्यावसायिक अधिकार, श्रमिकको श्रम अधिकार र नेपालको श्रम नीतिलाई कमजोर बनाउने खतरा छ ।”
संघले सिण्डिकेट प्रवृत्तिको घोर विरोध गर्दै सबै व्यवसायीहरूलाई यस्ता प्रयासका विरुद्ध एकजुट हुन आह्वान गरेको छ । विज्ञप्तिमा भनिएको छ, “मलेसिया वा नेपालभित्र विभिन्न नाम र शैलीमा प्रस्तुत भएका सिण्डिकेटधारीहरूसँग सहमति जनाउने वा समर्थन गर्ने कुनै निकाय, व्यक्ति वा समूहमाथि आवश्यक कारबाही गर्न संघ पछि हट्ने छैन ।”
संघका महासचिव रमेशकुमार बस्नेतले वैदेशिक रोजगारी क्षेत्र कुनै एक वर्ग वा समूहको निजी स्वार्थका लागि नभएको स्पष्ट पार्दै भने, “यो सबै व्यवसायी र श्रमिकको साझा हितसँग सम्बन्धित क्षेत्र हो । संघले हरेक अनुचित गठबन्धन, गुटबन्दी र एकाधिकारको प्रयासको कडा विरोध गर्नेछ ।”
बस्नेतले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागलगायतका सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराउँदै यस्ता सिण्डिकेट प्रवृत्तिलाई कुनै पनि हालतमा स्वीकृति नदिन आग्रह गरे । उनले व्यवसायीहरूलाई सतर्क रहन र आवश्यक परे संघर्षका लागि तयार रहन समेत अनुरोध गरे ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष मोहनसिंह गुरुङले पनि मलेसियासँगको कूटनीतिक सम्बन्ध र मर्यादा कायम राख्दै यस्ता गलत प्रवृत्तिबाट टाढा रहन सम्बन्धित पक्षलाई आग्रह गरे । उनले भने, “हामी दशकौंदेखि यो पेशामा छौं, मलेसियासँगको श्रम सम्बन्ध हाम्रो मुख्य आधार हो । त्यसैले नेपाल सरकारले पनि यस विषयमा सजग रहनु जरुरी छ ।”





