
काठमाडौं । नेपाल टेलिकमले देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरूमा यात्रु लक्षित निशुल्क इन्टरनेट सेवा (Free Wi-Fi) सञ्चालनमा ल्याएको छ । संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत कम्पनीले कात्तिक ११ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सो सेवाको शुभारम्भ गरेको हो ।

त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले संयुक्त रूपमा सेवाको उद्घाटन गरेका हुन् । पहिलो चरणमा अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सुरु गरिएको यस सेवाको पहुँच आगमन, प्रस्थान, VIP लाउञ्ज र प्रतिक्षा कक्षलगायत क्षेत्रहरूमा रहने बताइएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको सम्झौताअनुसार टेलिकमले देशभरका तीनवटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलहरूमा सर्वसाधारण यात्रुका लागि निशुल्क इन्टरनेट सेवा विस्तार गर्न लागेको हो ।
यात्रीहरूले सेवा उपलब्ध क्षेत्रमा “NT-CAAN Free WiFi” नामको SSID मा Connect गरी निर्देशनअनुसार प्रक्रिया पूरा गरेपछि निशुल्क Wi-Fi प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।





