
पर्वत । निर्माण सम्पन्न भएको डेढ वर्षपछि पर्वत सदरमुकाम कुश्मा बजारस्थित बान्द्रेबिडीमा रहेको बसपार्क सञ्चालनमा ल्याइने भएको छ ।
मङ्गलबार कुश्मा नगरपालिकामा जनप्रतिनिधि, यातायात व्यवसायी र सरोकारवालाबीच भएको छलफलले कात्तिक १४ गतेदेखि बसपार्क सञ्चालन गर्ने निर्णय गरेको हो । निर्णयअनुसार अहिले शिवालय चोकमा रहेका सबै यातायात कम्पनीका टिकट काउन्टरहरू सोही मितिभित्र बसपार्कको टर्मिनल भवनमा सारिने छन् ।
छलफलले बसपार्क सञ्चालनसँगै सवारी व्यवस्थापनका लागि नयाँ व्यवस्था पनि गरेको छ । अबदेखि ट्याक्सीका लागि दुई/दुई र अन्य सवारीसाधनका लागि एक/एक गाडी शिवालय चोकमा यात्रु चढाउन राख्न पाइनेछ । लामो दूरीका सवारीसाधनले शिवालय चोकमा यात्रु झार्न र चढाउन पाउनेछन् । साथै, राजमार्ग वा बजार क्षेत्रमा अव्यवस्थित रूपमा पार्किङ गर्ने सवारीसाधन बसपार्कभित्रै राख्नुपर्ने व्यवस्था गरिएको छ ।
बसपार्क सञ्चालनका लागि नगरपालिकाले गत साउन २९ गते ११ लाख १९ हजार २५२ रूपैयाँमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्र युवा व्यवसायी दीपक पुनको नाममा स्वीकृत भएपछि सञ्चालन प्रक्रिया अघि बढाइएको हो । पुनका अनुसार बसपार्कमा रंगरोगन, विद्युतीकरणलगायतका सबै तयारी सकिएको छ । अबदेखि जिल्लाभित्र र बाहिर जाने सबै सवारीसाधन बसपार्कबाटै सञ्चालन हुने उनले जानकारी दिए ।
बसपार्क सञ्चालनमा आउँदा यात्रुहरूले कुन ठाउँमा सवारी पर्खने भन्ने अनिश्चितता हट्ने, अव्यवस्थित पार्किङ घट्ने र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास सञ्चालक पुनले व्यक्त गरे ।
निर्माण सम्पन्न भए पनि बसपार्क लामो समय सञ्चालनमा नआएपछि संरचना जीर्ण बन्ने, सडकमा अव्यवस्थित पार्किङ बढ्ने र यात्रुहरू असुरक्षित हुने समस्या देखिएको थियो । बजारवासीले पनि लगातार बसपार्क सञ्चालनको माग गर्दै आएका थिए ।
शिवालय चोक र मध्यपहाडी लोकमार्गमा अव्यवस्थित पार्किङ भइरहेकाले बसपार्क सञ्चालनपछि ट्राफिक व्यवस्थापन सहज हुने जिल्ला ट्राफिक प्रहरी प्रमुख बलबहादुर गुरुङले बताए ।
छ करोड ६६ लाख तीन हजार २५० रूपैयाँ लागतमा बनेको बसपार्कमा दुई तले भवन, टिकट काउन्टर, यात्रु प्रतीक्षालय, शौचालय र व्यावसायिक प्रयोजनका लागि आधा दर्जन सटरको व्यवस्था गरिएको छ । बसपार्कभित्र दुई ठाउँमा सवारी पार्किङको सुविधा पनि छ ।
गत वर्ष असारमै निर्माण सम्पन्न गरेर सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय बागलुङले नगरपालिकालाई हस्तान्तरण गरेको थियो । आन्तरिक तयारीका कारण सञ्चालन ढिलो भएको नगरप्रमुख रामचन्द्र जोशीले बताए ।
कुश्मा बजारबाट दैनिक रूपमा काठमाडौँ, पोखरा, विराटनगर, नेपालगन्ज, भैरहवा, सुनौली, काँकडभिट्टालगायत सहरहरूका लागि बसहरू छुट्ने गर्छन् भने बागलुङ, म्याग्दी, रुकुम र मुस्ताङका सयौँ सवारीसाधन कुश्माहुँदै आवतजावत गर्छन् ।





