
बुधबार, १२ कात्तिक २०८२
पाल्पा । धान भित्र्याउने सिजनमा परेको असमयको वर्षाले पाल्पाका किसानलाई ठूलो समस्या पारेको छ । घर भित्र्याउन ठिक्क पारिएको धान वर्षाले भिजाएपछि यहाँका किसान चिन्तित बनेका छन् । काटेर खेतमै राखिएको धान वर्षाले बिगारेपछि किसानको वर्षभरिको परिश्रम जोखिममा परेको हो ।
माडीफाँटका किसान विक्रम कुमालका अनुसार दिउँसो काटेको धान राति परेको पानीले बर्बाद बनाएको छ । “मानो रोपी फलाएको मुरी स्याहार्न नपाउँदै पानीले भिजायो,” उनले भने ।
खहरेकी तारा रायमाझीले पनि खेतमा थुप्रो बनाएर राखिएको धान भित्र्याउन नपाएको बताइन् । “बुधबार स्याहार्ने योजना थियो, तर मंगलबार बिहानैदेखि पानी परेपछि सबै भिज्यो,” उनले दुखेसो पोखिन्, “तीन दिन ढिलो पानी परेको भए सबै सुरक्षित हुन्थ्यो ।”
अर्गेलीका भीम खनालले पनि घर आँगनमा थुपारेको धान भिजेर समस्या भएको बताए । “सोमबार अलिकति स्याहारेका थियौँ, बाँकी मङ्गलबार राखेका थियौँ, तर पानी आइहाल्यो,” उनले भने, “अब धान सुकाउने ठाउँ नै छैन, आँगन पनि भिजेको छ ।”
पोखराथोककी मीना कुमालले ठेक्कामा खेती गरेकी थिइन् । मजदुर लगाएर लगाएको धान भित्र्याउने बेलामा पानीले क्षति पुर्याएपछि उनी चिन्तित छन् । “बर्षभरिको जोहो गर्ने धान बेचेर केटाकेटी पढाउने योजना थियो, तर बेमौसमी वर्षाले सबै सपना तोडिदियो,” उनले भनिन्, “आफ्नो जग्गा छैन, ठेक्कामा लिँदा पनि प्रकृतिले साथ दिंदैन ।”
रामपुर, माडी, झडेवा, कचल, पूर्वखोला, अर्गली र गेझाललगायतका फाँटमा तिहारअघि र पछि किसान धान भित्र्याउने क्रममा थिए । केहीले पानी पर्ने अन्दाजमा हतार–हतार काटे पनि आज बिहानैदेखि परेको वर्षाले भित्र्याउन नपाएका बालीहरूमा क्षति पुर्याएको छ ।
कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमिता पाण्डेका अनुसार जिल्लामा हालसम्म करिब आठ प्रतिशत धान काटिएको छ । वर्षा जारी भएकाले क्षतिको पूर्ण विवरण आउन बाँकी छ । “स्थानीय तहलाई क्षति विवरण सङ्कलन गर्न आग्रह गरिएको छ,” उनले भनिन्, “पहिले नै वर्षाको सूचना दिएकाले ठुलो क्षति हुनबाट केही हदसम्म बच्न सकिएको छ ।”
मौसम पूर्वानुमान अनुसार बिहीबारसम्म वर्षा जारी रहने भएकाले काटिसकिएको धानमा थप क्षति हुने आशंका गरिएको छ ।
कृषि ज्ञान केन्द्रका तथ्याङ्कअनुसार पाल्पामा ३६ हजार ५३७ हेक्टरमा धानखेती हुँदै आएको छ । त्यसमध्ये आठ हजार ६२० हेक्टरमा वर्षे धान, ७०५ हेक्टरमा चैते धान र बाँकी २७ हजार २१२ हेक्टरमा अन्य बाली खेती गरिएको छ । यस वर्ष भने वर्षे धानको क्षेत्रफल घटेर आठ हजार २१० हेक्टरमा सीमित भएको छ ।





