
मङ्गलबार, ११ कात्तिक २०८२
तनहुँ । भानु नगरपालिका–७ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल थानीमाई मन्दिरमा आज एकैदिन ८६ वटा फूलका डोली भित्रिएका छन् ।
मन्दिर संरक्षण समितिका अनुसार तनहुँबाट ३५, लमजुङबाट २५, गोरखाबाट १२, चितवनबाट आठ, पोखराबाट चार र नवलपरासी तथा काठमाडौँबाट एक/एक गरी कुल ८६ डोली मन्दिरमा चढाइएका हुन् ।
समितिका अध्यक्ष जीवन थापा मगरले सोमबार सत्यनारायण पूजा गरी तयार पारिएका ती डोली मंगलबार मन्दिरमा चढाउने परम्परा रहेको जानकारी दिए । उनका अनुसार सात सय भक्तजनले रातभर जाग्राम बसेर बत्ती बाल्ने कार्यमा सहभागिता जनाए भने आज मात्रै आठ हजार ८७७ जनाले मन्दिरको दर्शन गरेका छन् ।
“विसं २०७२ मा एकैदिन ११५ डोली भित्रिएको थियो, त्यसयता आजकै दिन सबैभन्दा धेरै फूलका डोली आएका हुन्,” अध्यक्ष थापा मगरले बताए ।
कात्तिकको पहिलो मङ्गलबार औँशी परेकाले यस दिन फूलका डोली चढाउने चलन रहेको समितिले जनाएको छ । मन्दिर एकादशी, औँशी, सोह्रश्राद्ध र साउन महिनाभर बन्द रहने परम्परा छ । विशेष गरी कात्तिक र माघ महिनामा यहाँ ठूलो मेला लाग्ने र अन्य समयमा सामान्य भीड हुने गर्छ ।
भक्तजनले फूलका डोली पञ्चेबाजासहित ल्याएर मन्दिरमा तीन पटक परिक्रमा गरी पूजा गर्ने परम्परा छ । त्यसपछि मन्दिर परिसरमा रहेको देवलमा तोरण तीन फन्का घुमाएर बाँध्ने र मन्दिरभित्र प्रवेश गरी भाकल पूरा भएको भन्दै पूजा गर्ने गरिन्छ ।
आजको मेलामा भक्तजनको ठूलो भीड लागेको थियो । मन्दिर संरक्षण समितिका सचिव हर्कबहादुर थापाका अनुसार भक्तजनले चढाएको भेटी र दानबाट आज मात्रै करिब ९० हजार रुपैयाँ सङ्कलन भएको छ ।
हाल मन्दिरसम्म पुग्ने सडक निर्माण भएपछि भक्तजनको आगमन बढ्दै गएको छ । समुद्री सतहबाट १,२०० मिटर उचाइमा अवस्थित थानीमाई मन्दिरबाट गोरखाको लक्ष्मीबजार, लिगलिगकोट, पालुङटार, राइनासकोटलगायत हिमशृङ्खलाको मनमोहक दृश्य देख्न सकिने भएकाले धार्मिकसँगै पर्यटकीय आकर्षण पनि बढ्दै गएको समितिले जनाएको छ ।





