कुटपिटबाट महिलाको मृत्यु, चार जना नियन्त्रणमा |



मङ्गलबार, ११ कात्तिक २०८२

सिरहा । सिरहाको लहान नगरपालिका–५ खुट्टीखोला नजिकैको पर्तीटोलमा कुटपिटका कारण एक महिलाको ज्यान गएको छ ।

मंगलबार बिहान पसलका सामान चोरी गरेको आरोपमा भएको विवादका क्रममा स्थानीय मो सदिक मियाँकी करिब ५० वर्षीया श्रीमती नुरजहाँ खातुनमाथि कुटपिट गरिएको थियो । गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरी लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार मृतकको शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

कुटपिटमा संलग्न भएको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतक खातुनले खुट्टीखोलाको किनारमा छठ पूजाको घाट नजिकै खुद्रा किराना पसल सञ्चालन गर्दै आएकी थिइन् ।

स्थानीयका अनुसार आज बिहान एक युवकले पसलबाट सामान चोरी गरेको भन्दै खातुनले सो युवकका हजुरबासँग गुनासो गरेकी थिइन् । त्यसपछि ‘मेरो नातिलाई चोर ठानेको’ भन्दै परिवारका सदस्यहरूले उनलाई निर्घात कुटपिट गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्