
मङ्गलबार, ११ कात्तिक २०८२
नुवाकोट । लगातारको सिमसिमे वर्षा भइरहेका बेला पनि नुवाकोटका किसान धान भित्र्याउने काममा व्यस्त रहेका छन् ।
चाडपर्वका कारण समयमा धान भित्र्याउन नपाउँदा बाला झुरिएर झर्ने अवस्था देखिएपछि किसानहरू वर्षालाई बेवास्ता गर्दै हतार–हतार धान काट्ने, चुट्ने र भित्र्याउने कार्यमा जुटेका हुन् ।
कतिपय ठाउँमा काटिसकेको धान भिजेर सुरक्षित राख्न कठिनाइ भएको छ । किसानले चिसोका कारण भिजेको धान बिग्रन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
कृषि विकास कार्यालयका प्रमुख केशव खनालका अनुसार अहिले भित्र्याइएको धान चिसो हुने भएकाले घाम लागेपछि राम्ररी सुकाएर मात्र सुरक्षित गर्नुपर्ने सुझाव दिइएको छ ।
यसअघि कृषि विकास कार्यालयले सम्भावित वर्षाका कारण किसानलाई धान काट्न हतार नगर्न आग्रह गरेको थियो । तर, पाकिसकेको बाली ढिलो भित्र्याउँदा बढी क्षति हुने डरले किसानहरूले कार्यालयको सल्लाहलाई बेवास्ता गर्दै धान भित्र्याउने कामलाई तीव्रता दिएका छन् ।





