बजेट अभावमा तङ्ग्राम स्वास्थ्यचौकी भवन अधुरो, सेवा पाहुनाघरबाट



बागलुङ, कात्तिक ११ गते । काठेखोला गाउँपालिका–४ तङ्ग्राममा निर्माणाधीन आधारभूत स्वास्थ्यचौकीको भवन बजेट अभावका कारण अधुरो बनेको छ ।

आफ्नै भवन नहुँदा स्थानीय नागरिकले अस्थायी रूपमा पाहुनाघरबाट स्वास्थ्य सेवा लिनुपर्ने बाध्यता रहेको छ । गत वर्ष धाकखोलास्थित सात रोपनी जग्गामा निर्माण थालिएको भवन अहिले अलपत्र बनेको हो ।

गाउँपालिका अध्यक्ष राजु थापाको समन्वयमा रु ७ लाख र पूर्ववडाध्यक्ष केशव थापाको व्यक्तिगत रु ३ लाख सहित रु १० लाखमा जग्गा खरिद गरी सङ्घीय सरकारको रु ३८ लाख बजेटमा भवन निर्माण थालिएको थियो । तर, गत असारयता काम ठप्प छ ।

पूर्ववडाध्यक्ष केशव थापाका अनुसार गाउँपालिकाले ढिलो सम्झौता गरेकाले बजेट कार्यान्वयन हुन नसक्दा समस्या आएको हो । उनका अनुसार, वि.सं. २०८१ चैत ३१ गते सम्झौता भएर असारभित्र काम सम्पन्न गर्नुपर्ने थियो, तर रु ३८ लाखमध्ये रु ३३ लाख ६५ हजार मात्रै खर्च गर्न सकियो ।

“तङ्ग्राममा आफ्नै स्वास्थ्यचौकी नहुँदा जनताले सेवा पाउन कठिन भइरहेको छ,” थापाले भने, “वडाध्यक्ष हुँदा बनाएको पाहुनाघरमै अहिले स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ, तर गाउँपालिकाले यस वर्ष बजेट विनियोजन नगर्दा भवन निर्माण रोकिएको छ ।”

उपभोक्ता समितिका अध्यक्ष दीपक परियारले तीन महिनामा एक तला पक्की र अर्को तला जस्ताले छाउने काम सम्पन्न भएको बताउँदै बाँकी काम बजेट नहुँदा रोकिएको जानकारी दिए ।

गाउँपालिका अध्यक्ष थापाले प्रदेश र सङ्घीय सरकारबाट बजेट आउने आशा भए पनि नआएकाले काम अधुरो भएको बताए । उनले हिउँदे सभाबाट भए पनि बजेट संशोधन गरेर भवन निर्माण पूरा गर्ने प्रतिबद्धता जनाए ।

स्वास्थ्यचौकीका प्रमुख गणेश शर्माले भवन नहुँदा सेवा प्रवाहमा कठिनाइ भइरहेको बताए । उनका अनुसार, बर्थिङ सेन्टर र प्रयोगशाला सञ्चालनमा भए पनि पाहुनाघरको सिमित ठाउँका कारण प्रभावकारी सेवा दिन कठिन भएको छ ।

यसैबीच, भवन निर्माणका लागि ल्याइएका लाखौँका सामग्रीसमेत अहिले प्रयोगविहीन रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्