
चितवन । आगामी पुस महिनादेखि देशभर बाघ गणना सुरु गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्ने तयारी भएको हो ।
बाघ गणना सम्पन्न भएपछि गैँडा गणना गर्ने योजना पनि तयार गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । गत वर्ष दातृ निकायले अन्तिम समयमा सहयोग गर्न नसक्दा स्थगित भएको गैँडा गणना यस वर्ष सम्पन्न गरिने भएको हो ।
विभागले चालु आर्थिक वर्षका लागि बाघ गणनामा १८ लाख रुपैयाँ विनियोजन गरेको छ, जसका लागि झन्डै डेढ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ । गैँडा गणनाका लागि पनि १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ भने करिब दुई करोड रुपैयाँ आवश्यक पर्ने बताइएको छ । बाँकी रकमका लागि दातृ निकायसँग सहयोग मागिनेछ ।
विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार बाघ गणना पुस, माघ र फागुन महिनासम्म तीन महिनासम्म चल्नेछ । गैँडा गणना भने चैत महिनामा सुरु गरी तीन साताभित्र सम्पन्न गरिने योजना छ । तर, आगामी निर्वाचनका कारण गैँडा गणनाको मिति केही अनिश्चित रहेको पनि उनले बताए ।
बाघ गणना अन्तर्गत बाघ बढी आवतजावत गर्ने क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिनेछ । ती क्यामेराले खिचेका तस्वीरका आधारमा बाघको शरीरमा रहेका फरक–फरक पाटाको तुलना गरी बाघको सङ्ख्या छुट्याइने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तले जानकारी दिए ।
यसअघि सन् २०२२ मा भएको बाघ गणनामा नेपालभर ३३५ बाघ फेला परेका थिए । तीमध्ये चितवनमा १२८, बर्दियामा १२५, बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ बाघ पाइएको थियो । नेपालमा यसअघि सन् २००९, २०१३ र २०१८ मा पनि बाघ गणना गरिएको थियो । ती गणनामा क्रमशः १२१, १९८ र २३५ बाघ भेटिएका थिए ।
गैँडा गणना भने परम्परागत रूपमा हात्तीमाथि बसेर प्रत्यक्ष अवलोकनका आधारमा गरिँदै आएको छ । यस पटक नयाँ प्रविधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरिरहेको जनाएको छ ।
सन् २०२१ मा गरिएको पछिल्लो गैँडा गणनाअनुसार नेपालमा ७५२ गैँडा रहेका थिए । तीमध्ये ६९४ चितवनमा, ३८ बर्दियामा र १८ शुक्लाफाँटामा पाइएका थिए । सन् १९५० को दशकमा नेपालमा करिब ८०० गैँडा रहेको अनुमान गरिँथ्यो भने सन् १९६० को दशकमा त्यो सङ्ख्या घटेर करिब सय नाघेको थियो ।





