भौनेली स्वास्थ्यचौकीमा अल्ट्रासाउण्ड सेवा सुरु, गर्भवतीका लागि निःशुल्क |



बैतडी । सुर्नया गाउँपालिका–४ स्थित भौनेली स्वास्थ्यचौकीमा अबदेखि ‘अल्ट्रासाउण्ड’ सेवा नियमित रूपमा उपलब्ध हुने भएको छ । स्वास्थ्यचौकीका प्रमुख सुरेन्द्रसिंह महराका अनुसार गर्भवती महिलाका लागि यो सेवा निःशुल्क प्रदान गरिनेछ ।

गाउँपालिकाको समन्वयमा प्रदेश सरकारले उक्त स्वास्थ्यचौकीका लागि अल्ट्रासाउण्ड उपकरण उपलब्ध गराएको हो । हाल अनमी पुष्पा धानुक महरा अल्ट्रासाउण्ड परीक्षण सेवा प्रदान गर्दै आएकी छन् ।

यसअघि शिविर सञ्चालन हुँदा मात्र गर्भवती महिलाको अल्ट्रासाउण्ड परीक्षण हुने गरेकोमा अब दैनिक रूपमा सेवा उपलब्ध हुने भएको छ । गाउँपालिकाकी उपाध्यक्ष मञ्जु महरा बोहराले नियमित सेवाबाट गर्भवती, आमा र नवजात शिशुको स्वास्थ्य स्थिति पहिचान गर्न सहज हुने बताइन् ।

उनका अनुसार, “गाउँपालिकामा मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने अभियान सञ्चालन भइरहेको छ । अल्ट्रासाउण्ड सेवाले गर्भावस्थाका जटिलता समयमै पत्ता लगाउन र आमा–शिशु दुवैको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।”

प्रतिक्रिया दिनुहोस्