
गोरखा । उत्तरी गोरखाका पहाडी गाउँहरूमा मौसमी हिमपात भएको छ । चुमनुब्री गाउँपालिकाको उच्च हिमाली क्षेत्रका बस्तीहरूमा गए रातिदेखि निरन्तर हिउँ परिरहेको स्थानीयले जनाएका छन् ।
हिमपातका कारण स्थानीय जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले बताए । उनका अनुसार, “गए राति हल्का वर्षा सुरु भएको थियो, त्यसपछि रातिदेखि नै हिउँ पर्न थाल्यो र अहिले पनि परिरहेको छ । मानिसहरू घरभित्रै आगो ताप्दै बसेका छन्, चौँरी र चौपायालाई पनि गोठभित्र राखिएको छ ।”
तीन हजार मिटरभन्दा माथिका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले सेताम्मै ढाकिएका छन् । त्यस्तै वडा नं १ का सामागाउँ, साम्दो र वडा नं २ का स्याला, ल्होलगायत गाउँ पनि बाक्लो हिउँले ढाकिएका छन् ।
हिउँका कारण मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटकहरू पनि प्रभावित भएका छन् । पाँच हजार १०६ मिटर उचाइमा अवस्थित लार्के पास जाने क्रममा रहेका पर्यटक हिउँले बाटो अबरुद्ध भएपछि सामागाउँ र साम्दोमा रोकिएका स्थानीयले बताएका छन् ।





