न्यूखोलामा झोलुङ्गे पुल बनेपछि दुई सय घरपरिवार लाभान्वित



म्याग्दी, कात्तिक ११ गते ।
मङ्गला गाउँपालिका–४ न्यूखोलामा झोलुङ्गे पुल निर्माण भएपछि करिब दुई सय घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । पुल सञ्चालनमा आएपछि बुकेनी र धापुङ्ग गाउँबीचको आवागमन सहज बनेको छ र एक घण्टाको दूरी घटेर ३० मिनेटमा सीमित भएको छ ।

मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२.५ मिटर लम्बाइको झोलुङ्गे पुल निर्माण गरेको हो । पुल बनेपछि स्थानीयलाई खोल्सा र जङ्गल हुँदै लामो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटेको उपभोक्ता समितिकी अध्यक्ष सविता रोकाले बताइन् ।

उनका अनुसार, “पहिले धापुङ्ग र महेशका बासिन्दालाई वडा कार्यालय पुग्न एक घण्टा लाग्थ्यो, अब ३० मिनेटमै पुग्न सकिन्छ । बर्खामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने समस्या पनि अब समाप्त भएको छ ।”

कुल रु ५७ लाख १० हजार ८६० लागतमा उपभोक्ता समितिले पुल निर्माण गरेको हो । उपभोक्ताले रु ६४ हजार ९६१ बराबरको श्रमदान गरेका छन् । निर्माणका लागि रु ११ लाख ६६ हजार ४२४ मा स्टिल पार्टस् खरिद गरिएको र रु ३१ लाख ८३ हजार ९१ उपभोक्ता समितिलाई भुक्तानी गरिएको समितिले जनाएको छ ।

पुलको सोमबार प्रतिनिधिसभाका निवर्तमान सदस्य तथा पूर्वराज्यमन्त्री खमबहादुर गर्बुजाले उद्घाटन गरेका थिए । पुल निर्माण सम्पन्न भएको खुसीयालीमा स्थानीयवासीले नाचगान गर्दै उत्सव मनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्