
काठमाडौँ, कात्तिक ११ गते ।
नेपालगन्जमा हुने दोस्रो संस्करणको नेपालगन्ज राष्ट्रिय पौडी प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । नेपालगन्ज स्वीमिङ क्लबको आयोजनामा कात्तिक १४ र १५ गते नेपालगन्ज रंगशालामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।
आयोजक क्लबका अनुसार प्रतियोगितामा सातै प्रदेशका करिब २०० खेलाडीले ५६ विधामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता अन्डर–८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका साथै खुला समूहमा आयोजना गरिनेछ । क्लब अध्यक्ष केशवराज न्यौपानेका अनुसार ८ वर्ष मुनिका खेलाडीले २५ मिटर, १० वर्ष मुनिका खेलाडीले ५० मिटर, १२ र १४ वर्ष मुनिका खेलाडीले ५० तथा १०० मिटर, र खुला समूहका खेलाडीले २०० तथा ४०० मिटर दुरीका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताका लागि आवेदन खुला गरिएको क्लबले जनाएको छ । इच्छुक खेलाडीले क्लबले उपलब्ध गराएको गूगल फारममार्फत आवेदन दिन सक्नेछन् । आवेदन फारम भर्दा सहभागिताशुल्क रु १,५०० तोकिएको छ । हालसम्म करिब १०० खेलाडीले अनलाइन आवेदन फारम भरी सकेका छन् ।
नेपाल पौडी संघको सहकार्यमा आयोजक क्लबले नेशनल स्वीमिङ टेक्निकल अफिसियल्स क्लिनिक पनि सञ्चालन गर्दैछ, जसमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ३५ जना रेफ्री र जज सहभागी हुनेछन् । बाँके बाहेक अन्य जिल्लाबाट आउने खेलाडीका लागि खेल अवधिभर निःशुल्क खाजा, खाना र बसोबासको व्यवस्था गरिएको क्लबले जनाएको छ ।
प्रतियोगिताको तयारीका लागि नेपाल पौडी संघका टेक्निकल हेड विष्णु खड्कासहित तीन जना प्राविधिक टोली नेपालगन्ज पुगेको छ । प्रतियोगिता सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकार, नेपालगन्ज उपमहानगरपालिका, प्रदेश खेलकुद परिषद्, विभिन्न बैंक, अस्पताल, इन्सुरेन्स कम्पनी, व्यापारिक प्रतिष्ठान र खेलप्रेमी उद्यमीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतियोगिता सञ्चालनका लागि करिब रु १५ लाख खर्च लाग्ने अनुमान गरिएको अध्यक्ष न्यौपानेले जानकारी दिए ।





