
दमक। झापाको शिवसताक्षी नगरपालिकामा कात्तिक १५ देखि २२ गतेसम्म सञ्चालन हुने ‘एलभिडी प्रथम झापा महिला गोल्डकप–२०८२ अन्तरराष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’को खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक झापा महिला गोल्डकपले आज यस सम्बन्धमा जानकारी दिएका छन्।
आयोजक सचिवालय प्रमुख हिमाल खरेलका अनुसार, प्रतियोगितामा देशभरका उत्कृष्ट आठ महिला टोलीको सहभागिता रहनेछ। उद्घाटन खेल नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने छ।
प्रतियोगिताको दोस्रो खेल कात्तिक १६ गते नेपाल एपिएफ फुटबल क्लब र भारतको सिक्किमस्थित सिंग्लिङ स्पोर्टिङ क्लबबीच हुनेछ। पहिलो सेमिफाइनल खेल कात्तिक १९ गते र दोस्रो सेमिफाइनल कात्तिक २० गते आयोजना गरिनेछ।
प्रतियोगिताका लागि तीन हजार दर्शक क्षमताको पक्की प्यारापिटमा कुर्सी जडानको काम सकिएको छ भने १० हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट पनि निर्माण गरिएको अध्यक्ष सन्तोष थोप्राले बताए।
शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताको विजेताले रु १० लाख १० हजार, उपविजेताले रु पाँच लाख, र सर्वोत्कृष्ट खेलाडीले रु एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।
त्यस्तै, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ताले जनही रु २५ हजार पुरस्कार पाउनेछन्। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित खेलाडीलाई रु १५ हजारसहित ट्रफी प्रदान गरिने व्यवस्था गरिएको छ।





