
काठमाडौँ, कात्तिक १० ।
नेपाली मार्सल आर्ट्स खेलाडी भूपेन्द्र गुरुङले अमेरिकामा आयोजित विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा तीन पदक जितेर देशको नाम उज्यालो पारेका छन् । अक्टोबर २६ मा बोस्टनमा सम्पन्न प्रतियोगितामा उनले दुई स्वर्ण र एक रजत पदक प्राप्त गरेका हुन् ।

वल्र्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा सम्पन्न प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वान विधामा स्वर्ण जिते । उनले ताइची छ्वान ओपन ह्यान्डमा ९.५ अंक र छाङ छ्वानमा ९.०३३ अंक प्राप्त गर्दै स्वर्ण चुमे भने ताइची छ्वान सर्ट वेपनमा ९.२ अंकसहित रजत पदक हासिल गरे । तीनै विधाको पूर्णाङक १० थियो ।
यसअघि पनि भूपेन्द्रले अमेरिकाका विभिन्न सहरमा सम्पन्न तीन प्रतियोगितामा भाग लिएर तीन स्वर्ण र तीन रजत पदक जितिसकेका छन् । जर्मनी, युके र थाइल्यान्डमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताबाट पनि उनले पदक ल्याइसकेका छन् ।
भूपेन्द्रले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको जिम्मेवारी समेत सम्हालेका छन् । हाल उनी नेपाल उमा कुङफु संघका उपाध्यक्षका रूपमा कार्यरत छन् ।
राष्ट्रका लागि पदक जित्न पाएकोमा खुशी व्यक्त गर्दै उनले प्रतियोगितामा सहभागी हुन सहयोग गर्ने समाजसेवी एवं कलाकार प्रेम गुरुङ, लम्जुङ सेवा समाज न्युयोर्कका अध्यक्ष गम गुरुङ लगायत सम्पूर्ण सहयोगीप्रति आभार प्रकट गरेका छन् ।





