मिथिलाञ्चल छठमय धुनमा रमाउँदै |



धनुषा । ‘केरा जे फरल घउरमे ओहि पर सुगा मंडराय…’ जस्ता लोकधुन अहिले जनकपुरधामदेखि सम्पूर्ण मिथिलाञ्चलभरि गुन्जिरहेका छन् । सहर, गाउँ, बजार, चोक र गल्ली सबै छठका गीतले झन्झनी उठेका छन् । जहाँ पुगिए पनि छठको भक्ति र उल्लासले वातावरण पूरै छठमय बनेको छ ।

‘काँचहि बाँसके टोकरिया हो दीनानाथ, टोकरी लचकत जाय…’ जस्ता लोकगीतले अझै माहोलमा धार्मिकता र सांस्कृतिक मिठास थपेका छन् । मैथिल कन्याद्वारा नदी वा पोखरीसम्म प्रसाद सामग्री बोकी जाँदा गाइने यस्ता लोकगीतमा सूर्यदेव (दीनानाथ) र षष्ठी देवी (छठीमाया) प्रति श्रद्धा प्रकट गरिएको हुन्छ ।

छठ पर्वको वैदिक नाम ‘सूर्य–षष्ठी’ हो । यसमा सूर्यदेवलाई मुख्य आराध्य देवता मानिँदै षष्ठी देवीको पनि गौण रूपमा पूजा गरिन्छ । राधा–कृष्ण, सीता–राम, गौरी–शंकर जस्तै सूर्य र षष्ठी एकअर्काका पूरक देवी–देवता हुन् ।

आस्थाको महान् पर्व छठको आज तेस्रो र मुख्य दिन हो । बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै आराधना गरिरहेका छन् । दोस्रो दिन ‘खरना’ सम्पन्न भएपछि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा अनुसार पूजा–अर्चना चलिरहेको छ ।

सूर्यलाई ‘आदिदेव’ मानिन्छ— जसले सृष्टिलाई उज्यालो दिन्छ, जीवनमा ताप र ऊर्जा प्रदान गर्छ, रोग–व्याधिबाट मुक्त राख्छ । छठ पर्व कृषक समाजसँग विशेष रूपमा सम्बन्धित पर्व हो, जसले सूर्य र जलको जीवनदायी महत्त्वलाई प्रकट गर्छ ।

साहित्यकार तथा संस्कृतविद् राजेन्द्र विमलका अनुसार, छठ पर्व केवल धार्मिक अनुष्ठान होइन, प्रकृतिप्रतिको श्रद्धा र सहअस्तित्वको प्रतीक हो । उनका शब्दमा, “छठ पर्वले समानता, सद्भाव, र छुवाछूतमुक्त समाजको सन्देश दिँदै सूर्य र जलको आराधनाबाट मानव र प्रकृतिको गहिरो सम्बन्ध उजागर गर्छ।”

प्रतिक्रिया दिनुहोस्