
कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–११ जोकैयाका मङ्गल चौधरीले च्याउखेतीलाई आफ्नो मुख्य आम्दानीको स्रोत बनाएका छन् । पाँच वर्षअघि रु ६० हजार लगानीमा एउटा टनेलबाट सुरु गरेको व्यवसाय अहिले सातवटा टनेलमा विस्तार भइसकेको छ । उनले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर व्यवस्थित रूपमा च्याउ उत्पादन गर्दै आएका छन् ।
चौधरीले हाल दुई कट्ठा जग्गा भाडामा लिएर बाह्रै महिना च्याउ उत्पादन गर्ने व्यवस्था मिलाएका छन् । प्रारम्भमा ज्ञान र सीपको अभावमा छ महिनामात्रै उत्पादन गर्ने चौधरी अहिले वर्षभरि उत्पादन गर्न सक्ने भएका छन् । “अनुभव बढेसँगै उत्पादन पनि स्थिर र आम्दानी पनि राम्रो भएको छ,” उनले बताए ।
हाल बजारमा प्रतिकिलो रु १८० मा बिक्री हुने च्याउबाट सबै खर्च कटाएर चौधरीले वार्षिक करिब रु १० लाख आम्दानी गर्ने गरेका छन् । उनका अनुसार दैनिक ७० देखि ८० केजीसम्म च्याउ बिक्री हुन्छ, तर बजारको मागअनुसार आपूर्ति गर्न नसक्ने स्थिति छ । “बजारमा माग धेरै छ, यदि उत्पादन अझै बढाउन सके आम्दानी पनि दोब्बर हुन्छ,” उनले बताए ।
च्याउखेतीलाई लगानी कम र आम्दानी बढी हुने व्यवसायका रूपमा चित्रित गर्दै चौधरीले यसै आम्दानीबाट परिवारको लालनपालन, छोराछोरीको पढाइ खर्च र केही बचत पनि गर्न सक्ने बताए । उनले च्याउ ढुवानीका लागि एउटा विद्युतीय अटोरिक्सा समेत खरिद गरेका छन् ।
हाल चौधरीको फर्ममा आठ जना कामदारले दैनिक रोजगार पाएका छन् । “आफ्नो परिवार चलाउनुका साथै अन्यलाई पनि रोजगार दिन पाउँदा सन्तुष्टि मिल्छ,” चौधरीले भने, “दैनिक प्रतिव्यक्ति रु ६०० देखि ७०० ज्याला तिरेर उनीहरूलाई काम दिइरहेको छु ।”





