
झापा । नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको गम्भीर अभाव भएको भन्दै रक्तदानका लागि सबैलाई अपिल गरेको छ । हाल झापाका ६ वटा रक्तसञ्चार केन्द्रमा जम्मा करिब २०० पिन्ट मात्र रगत मौज्दात रहेको र यो दुई दिनसम्म मात्र पुग्ने स्थिति भएको सोसाइटीले जनाएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालका अनुसार लगातार आएका चाडपर्व र असोज १८ देखि २० गतेसम्म परेको अविरल वर्षा तथा विपद्का कारण रक्तदान कार्यक्रम सञ्चालन हुन नसक्दा रगतको अभाव सिर्जना भएको हो ।
‘जिल्लाका अस्पतालमा दैनिक मिर्गौला डायलाइसिस र अन्य उपचारका लागि झन्डै एक सय पिन्ट रगत आवश्यक पर्छ, तर अहिले हाम्रो मौज्दात अत्यन्तै कम छ,’ अध्यक्ष ढकालले बताए । ‘त्यसैले सबै रक्तदान गर्न सक्ने व्यक्ति र सङ्घ–संस्थालाई स्वस्फूर्त रूपमा रगत दान गर्न आग्रह गर्दछौँ,’ उनले भने ।
ढकालले रगतको माग उच्च भएको बताउँदै १८ वर्षमाथिका स्वास्थ्यपूर्ण व्यक्तिलाई नजिकको रक्तसञ्चार केन्द्रमा गई रगत दान गर्न आह्वान गरे । साथै उनले रगत आवश्यक हुने बिरामीका आफन्तले रगत खोज्ने मात्र नभई आफ्नै तर्फबाट पनि दाताको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘रगत माग्ने मात्रै होइन, आफूले पनि दान गरौँ । बिरामीलाई रगत लिन जाँदा जुनसुकै समूहको भए पनि दुई–तीन जना दाता लिएर जाऔँ । हाम्रोसँग सबै रक्त समूहका हजारौँ दाताको सम्पर्क नम्बर छन्, त्यसैले आफैं सम्पर्क गरेर पनि दाता खोज्न सकिन्छ ।’
अध्यक्ष ढकालले हालै सम्पन्न ‘जेनजी’ प्रदर्शनका क्रममा झापाबाट काठमाडौँका लागि करिब एक हजार ५०० पिन्ट रगत पठाइएको जानकारी पनि दिएका छन् ।





