
चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान परिस्थितिलाई सम्हाल्दै शान्तिपूर्ण निर्वाचनमार्फत समृद्धिको बाटोतर्फ अघि बढ्नु नै अबको एकमात्र विकल्प रहेको बताएका छन् ।
आज चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले पछिल्ला राजनीतिक जटिलताहरू समाधान गर्न र स्थायित्व कायम गर्न निर्वाचन अपरिहार्य भएको उल्लेख गर्दै सबै राजनीतिक दलहरू त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।
“चुनाव हुन्छ वा हुँदैन भन्ने प्रश्न होइन, अब त्यसको विकल्प नै छैन,” उनले भने, “माओवादी केन्द्रले निर्वाचनलाई पहिलो प्राथमिकता मानेर तल्लो तहसम्मका नेता तथा कार्यकर्तालाई तयारीमा लाग्न निर्देशन दिइसकेको छ ।”
संयोजक दाहालले नेपाली कांग्रेसलगायत अन्य दलका नेताहरूसँग पनि निर्वाचनको आवश्यकता र वातावरण निर्माणबारे निरन्तर संवाद भइरहेको जानकारी दिए । “सरकार पनि निर्वाचनको वातावरण बनाउन लागिरहेको अनुभूति मैले गरेको छु,” उनले थपे ।
उनले सरकारलाई अन्य विषयमा अलमलिनुभन्दा निर्वाचनमा केन्द्रित हुन सुझाव दिँदै समाजवादी मोर्चाभित्रको दल एकता प्रयास पनि सकारात्मक दिशामा अगाडि बढिरहेको बताए ।
“यही हप्ताभित्र मोर्चाभित्रका दलबीच एकता हुने वा नहुनेबारे निष्कर्ष आउँछ,” उनले भने, “मधेसवादी दलहरू र माओवादीबीच मिलेर निर्वाचनमा जाने सम्भावना पनि बलियो बनेको छ ।”





