
काठमाडौँ । सूर्य, छठी माता र नदीको आराधना गर्दै मनाइने महान् पर्व छठका बर्तालु आज बिहानै स्नान गरी निर्जल व्रत बसेका छन् । दिनभर निराहार रहेर उपवास गर्ने बर्तालुहरूले साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिबाट आजको मुख्य व्रत सम्पन्न गर्ने छन् ।
कात्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा–आराधना गरी विधिपूर्वक अर्घ्य दिइँदैछ । राजधानीको गुह्येश्वरीदेखि गौरीघाटसम्म निर्माण भएका छठ घाटमा बिहानैदेखि भक्तजनको घुइँचो देखिएको छ ।
चार दिनसम्म मनाइने सूर्य उपासना पर्व शनिबार अर्थात् कात्तिक शुक्ल चतुर्थीबाट सुरु भएको हो । पौराणिक ग्रन्थ महाभारत अनुसार, अज्ञातवासमा रहेका पाँच पाण्डव र द्रौपदीले सूर्यदेवको आराधना गरी गुप्तवास सफल होस् भनी छठ व्रत गरेका थिए । त्यसै कालदेखि यो पर्व मनाउने परम्परा सुरु भएको धार्मिक विश्वास रहँदै आएको छ । सूर्य पुराणमा उल्लेख भएअनुसार, सर्वप्रथम ऋषि अत्रिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् र उनले अटल सौभाग्य तथा पति प्रेम प्राप्त गरेकी थिइन् ।
व्रत विधि
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सुरु हुन्छ । पहिलो दिन स्नान गरी एक छाक मात्र खाने चलन छ । दोस्रो दिन पञ्चमीका दिन सक्खर हालेर पकाइएको खीर (खरना) षष्ठी मातालाई अर्पण गरी प्रसादस्वरूप ग्रहण गरिन्छ । त्यसपछि नुनरहित फलाहार ग्रहण गर्दै व्रतालुहरू शुद्ध जीवनशैली अपनाउँछन् ।
मुख्य दिन षष्ठीका दिन व्रतालुहरूले दिनभर निराहार बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन् । त्यसपछि सप्तमीको बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ्य दिई व्रत सम्पन्न गर्ने परम्परा छ । धार्मिक विश्वासअनुसार यस समयमा विधिपूर्वक सूर्य आराधना गरी अर्घ्य दिएमा चर्मरोग जस्ता समस्या लाग्दैनन् ।
वि.सं. २०४६ अघि छठ पर्व मुख्यतः तराई क्षेत्रमा सीमित रहेको भए पनि अहिले यसले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ । सोही वर्षदेखि सरकारले यो पर्वको अवसरमा सार्वजनिक बिदा दिन थालेको हो । बीचमा केही वर्ष बिदा कटाइए पनि अहिले पुनः सार्वजनिक बिदा दिइँदै आएको छ ।
छठ पर्वको तयारीका लागि राजधानीको गुह्येश्वरी–गौरीघाट क्षेत्र, कमलपोखरी, बागमती, नक्खु र विष्णुमती नदी किनारलगायतका स्थानहरूमा आकर्षक सजावट गरिएको छ ।
छठका बर्तालुहरूले चतुर्थीदेखि नै सात्त्विक भोजन ग्रहण गरी लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ परित्याग गर्छन् । कतिपय बर्तालुहरू भने कोजाग्रत पूर्णिमापछि नै चोखो खानपान अपनाउँछन् । यसैले छठ पर्वलाई अत्यन्त पवित्र, आत्मशुद्धि र धार्मिक समर्पणको प्रतीक पर्वका रूपमा मानिन्छ ।





