धानको समर्थन मूल्यमा ढिलाइ, किसान मर्कामा



कैलाली । टीकापुर नगरपालिका–४ का किसान बन्धुराम डगौरा सरकारको समर्थन मूल्यमा धान बिक्री गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको पर्खाइमा छन् । चाडपर्वका बेला घरखर्च धान बिक्रीमै निर्भर हुने बन्धुरामले तत्काल पैसाको जोहो गर्न केही धान मात्र प्रति क्विन्टल रु २,५०० मा बेचेका छन् । बाँकी धान उनले सरकारले तोकेको मूल्यमा बिक्री गर्न चाहिरहेका छन् ।

“खाद्यले समयमा धान खरिद गरेको भए मैले सस्तोमा धान बेचेर घाटा बेहोर्नु पर्ने थिएन,” उनले भने, “१० क्विन्टल धान रु एक हजार सस्तोमा बेच्दा झण्डै रु १० हजार घाटा भयो।”

बन्धुराम मात्र होइन, कैलालीका धेरै किसान अहिले उस्तै समस्यामा छन् । खाद्य कम्पनीले समयमा धान खरिद प्रक्रिया सुरु नगर्दा किसानहरू उत्पादन भएको धान सस्तोमा व्यापारीलाई बेच्न बाध्य भएका छन् । चाडपर्वका खर्च र गोदाम अभावका कारण किसानले आफ्नो धान खेतमै थुपारेर खाद्यको पर्खाइ गरिरहेका छन् ।

भजनीका अर्का किसान जयप्रसाद ढुङ्गानाले भने, “सरकारले किसानको पीडा कहिल्यै बुझ्दैन, हरेक वर्ष यस्तै समस्या भोग्नुपर्छ,” भन्दै असन्तोष व्यक्त गरे ।

किसानहरूको निरन्तर गुनासोपछि स्थानीय प्रशासन र सरोकारवालाले हस्तक्षेप गर्न थालेका छन् । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको उपस्थितिमा भएको छलफलले कात्तिक ११ गतेभित्र धान खरिद सुरु गर्न र कोटा वृद्धि गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई आग्रह गरेको छ ।

सरकारी स्वामित्वको खाद्य कम्पनीले परम्परागत रूपमा सरकारले तोकेको मूल्यमा धान खरिद गर्दै आएको छ । खाद्यले खरिद सुरु गरेपछि व्यापारीहरूले पनि मूल्य बढाउने गरेका छन् । अहिले कैलालीका टीकापुर, सत्ती, जोशीपुर, भजनी, गौरीगङ्गा र धनगढी मोहनपुर गरी ६ स्थानमा डिपोमार्फत धान खरिदको तयारी भइरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्