सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की



काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गर्न सबै नेपालीलाई आह्वान गरेकी छन् । सूर्य आराधनाको महान् पर्व छठको अवसरमा आइतबार जारी शुभकामना सन्देशमार्फत उनले यस्तो आग्रह गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले आफ्नो सन्देशमा भनिन्, “आगामी निर्वाचनलाई राष्ट्रिय अनुष्ठानका रूपमा ग्रहण गरी त्यसमा सहभागी भई सफल बनाउन सबै पक्ष एकजुट हुनुपर्छ ।” उनले जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिलाई सामान्यीकरण गर्दै फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नु अहिले सबैको सामूहिक दायित्व रहेको बताइन् ।

उनका अनुसार सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन । उनले भनिन्, “आफ्ना अडान वा असन्तुष्टि भए पनि शान्तिपूर्ण रूपमा प्रस्तुत गरी आम जनताको समर्थन जितेर निर्वाचनबाट अनुमोदन गराउनु लोकतन्त्रको सर्वोत्तम मार्ग हो ।”

प्रधानमन्त्रीले छठसहितका चाडपर्वहरूले सामाजिक एकता, सद्भाव र भ्रातृत्वको सन्देश दिने उल्लेख गर्दै वर्तमान अवस्थामा सबै नेपालीबीच अझ बढी एकता र सहकार्यको आवश्यकता रहेको बताइन् ।

“पवित्र आस्था, कठिन व्रत र सिँगारिएका नदी तथा तलाउका किनाराले दिने ऊर्जाले सबैमा सद्भाव र खुसियाली छाओस्,” उनले शुभकामना व्यक्त गर्दै भनिन्, “सत्य, अहिंसा र प्रकृतिप्रतिको प्रेममा प्रेरित यो पर्वले तराई र पहाडबीचको सम्बन्धलाई अझ मजबुत बनाउँदै आएको छ ।”

प्रतिक्रिया दिनुहोस्