छठ पर्वले राष्ट्रिय एकता र सद्भाव सुदृढ पार्छ : राष्ट्रियसभा अध्यक्ष दाहाल



काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

छठ पर्व–२०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई उनले सुख, शान्ति, समृद्धि र दीर्घायुको शुभकामना दिएका छन् । शुभकामना सन्देशमा अध्यक्ष दाहालले छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सहअस्तित्व र एकताको भावना अभिवृद्धि गर्ने उल्लेख गरेका छन् ।

उनका अनुसार नेपाल बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो, जहाँ संविधानले सबै समुदायलाई समान अधिकार सुनिश्चित गरेको छ । “विभिन्न जाति, धर्म र संस्कृतिका चाडपर्वहरूले हाम्रो विविधतालाई झल्काउँछन् । विविधताभित्रको एकता नै नेपालीपनको पहिचान हो,” दाहालले भनेका छन् ।

सूर्य उपासनाको रूपमा मनाइने छठ पर्व प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्ध स्थापित गर्ने पर्व भएको उनले उल्लेख गरे । अस्ताउँदो सूर्यलाई अर्घ्य दिई रातभर व्रत बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्पराले प्रकृतिप्रतिको सम्मान झल्काउने उनले बताए ।

अन्त्यमा अध्यक्ष दाहालले भने, “परिवारको कल्याण, सन्तान सुख र मनोकामना पूरा हुने विश्वाससहित मनाइने छठ पर्वले हामी सबैलाई परिवार, समुदाय र मानव कल्याणको मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्