
काठमाडौँ । आगामी सोमबार मनाइने छठ पर्वलाई लक्षित गर्दै अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गतको बागमती सुधार आयोजनाले धाप ड्याममा संचित पानी बागमती नदीमा छाड्ने भएको छ ।
आयोजनाका अनुसार नदीको सतह बढाई भक्तजनलाई स्नानका लागि सहज बनाउन आजदेखि ड्यामको पानी क्रमशः नदीमा छोड्न सुरु गरिएको हो ।
उप–आयोजना निर्देशक तथा समिति प्रवक्ता उद्धव नेपालका अनुसार धाप ड्यामको पानी पशुपति क्षेत्रसम्म आइपुग्न करिब १४ घण्टा लाग्ने भएकाले आजैदेखि पानी छाड्ने तयारी गरिएको हो । उनका अनुसार विशेष अवसरका दिनमा जस्तै यस वर्ष पनि दुई दिनसम्म बागमतीमा प्रतिसेकेन्ड ४०० लिटरका दरले पानी प्रवाह गरिनेछ ।
‘यसरी पानी छाड्दा बागमती नदीमा घुँडासम्म पानी पुग्ने अनुमान छ,’ नेपालले बताए ।
यद्यपि, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले भने यस वर्ष छठ पर्वका लागि मेलम्चीको पानी बागमतीमा नछाडिने जानकारी दिए । उनका अनुसार समितिलाई यस सम्बन्धमा औपचारिक माग नआएकाले मेलम्चीको पानी प्रयोग नहुने भएको हो ।
छठ पर्व विशेषतः तराई क्षेत्रका समुदायबीच मनाइने सूर्य उपासनासँग सम्बन्धित धार्मिक पर्व हो । यस अवसरमा महिलाहरूले सूर्यदेव र छठी माताको आराधना गर्दै परिवारको सुख–समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा रहेको छ ।





