कैलालीमा छठ पूजामा भक्तजनको भीड, सहभागिता वर्षेनि बढ्दै



कैलाली । कैलालीको धनगढीस्थित मोहना नदी तटमा विगत १३ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको छठ पूजामा यस वर्ष पनि भक्तजनहरूको असाधारण भीड देखिएको छ । छठ पूजा सेवा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डलका अनुसार पूजामा सहभागी भक्तहरूको सङ्ख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ ।

उनका अनुसार प्रारम्भिक वर्षमा पाँचवटा पालसहित केही परिवारले मात्र पूजा आरम्भ गरे पनि अहिले करिब २६० पूजाकक्ष निर्माण गरिँदै पर्व मनाइने गरेको छ । सुरुमा करीब ३५ हजार रुपैयाँमा सम्पन्न हुने पूजाको बजेट अहिले १५ लाख रुपैयाँसम्म पुगेको समितिले जनाएको छ ।

स्थानीय तह, उद्योगी, व्यापारी, विभिन्न सङ्घ–संस्था र सर्वसाधारणको सहयोगमा संकलित रकमबाट समितिले पूजाको तयारी सम्पन्न गर्ने गरेको छ । मण्डलका अनुसार प्रारम्भिक वर्षहरूमा सुनसान देखिने मोहना तट पछिल्ला वर्षयता करिब एक लाख भक्तजनले पूजाको अवलोकन गर्न आउने धार्मिक स्थलमा परिणत भएको छ ।

“पहिले यो पर्व मुख्यतया मिथिला समुदायमा मात्र सीमित थियो,” अध्यक्ष मण्डलले बताए, “तर अहिले विभिन्न समुदायका मानिसहरू पनि व्रत बसेर पूजामा सहभागी हुने गरेका छन् ।” उनले यस वर्ष करिब ३०० परिवारले व्रत बसेको र करिब दुई हजार भक्तजनले नदीमा सूर्यनारायणलाई जल तथा फूल अर्पण गर्ने गरेको जानकारी दिए ।

समितिका उपाध्यक्ष रोशनकुमार कर्णका अनुसार छठ पर्व आउनु एक महिना अघिदेखि नै मोहना नदी तटको सरसफाइ, पण्डाल निर्माण र सजावटका तयारी सुरु गरिन्छ । उनका अनुसार यस पटक २५६ पूजाकक्ष आकर्षक रूपमा पाल, रङ्गीचङ्गी माला, पताका र झिलिमिली बत्तीले सजाइएको छ ।

भक्तजनका लागि आकर्षक प्रवेशद्वारहरू निर्माण गरिएको छ भने धनगढी बजारका मुख्य स्थानमा स्वागतद्वारहरू स्थापना गरिएको छ । यस वर्ष नेपालका पूर्वी भेगबाट आएका कालीगढहरूले सूर्यको प्रतिमासहित विभिन्न देवीदेवताका मूर्तिहरू बनाइरहेका छन्, जसमा पेन्टिङ र सजावटको अन्तिम काम भइरहेको समितिले जनाएको छ ।

मोहना नदी किनारमा ठूलो पण्डाल निर्माण गरी भक्तजन र अवलोकनकर्ताका लागि बस्ने र जाग्राम बस्ने छुट्टै व्यवस्था गरिएको छ । साथै भजन–कीर्तन, नाच–गान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति र सांस्कृतिक झाँकी कार्यक्रम पनि आयोजना गरिएको छ ।

छठ पर्वमा भक्तजनले परिवारको दीर्घायु, सुख–शान्ति, समृद्धि र रोगव्याधिबाट मुक्ति कामना गर्दै व्रत बस्ने गर्छन् । पोखरी, नदी, तलाउ र जलाशयमा सूर्य उपासकहरूको भीडले कैलालीको वातावरण छठमय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्