
सुनसरी । तिहार सम्पन्न भएसँगै धरानमा अहिले छठ पर्वको तयारी र चहलपहल बढेको छ । बजारमा बाँसको चोयाबाट बनेका डालो, नाङ्लो, डोको, कोनिया, ढाकी लगायतका सामग्री खरिद गर्नका लागि भक्तजनको भीड देखिन्छ ।
सुनसरीको रामधुनी नगरपालिका–५ झुम्काका व्यापारी धर्मुकु स्वामीका अनुसार छठ पर्वमा बाँसका वस्तुको व्यापार अत्यधिक हुने गर्दछ । उनले भने, “छठमा तीनदेखि चार दिनभित्र तीन लाख रुपैयाँभन्दा बढीको कारोबार हुन्छ ।” उनका अनुसार सहरमा चोयाका सामग्री बनाउनेहरू घटेका कारण भोजपुर, धनकुटा लगायतका पहाडी क्षेत्र र भारतबाट सामान ल्याएर बिक्री गर्नुपर्ने अवस्था आएको छ ।
व्यापारी अमृता रौनियाले बाँसको चोयाबाट बनेका सामग्री छठ पूजामा अनिवार्य जस्तै हुने बताइन् । “यसले बाँसको हस्तकला जोगाउन मात्र होइन, स्थानीयलाई रोजगारी पनि दिएको छ,” उनले भनिन् । भारतबाट सामग्री ल्याएर झुम्का, इनरुवा र इटहरीका बजारमा बिक्री गर्दै आएकी रौनियाले छठ पर्व व्यापारीका लागि पनि ठूलो अवसर हुने बताइन् ।
छठका लागि सामान किन्न बजार आएकी ग्राहक लक्ष्मी खड्काले भनिन्, “छठमा विशेषगरी कोनिया र ढाकी चाहिन्छ, त्यसैमा फलफूल राखेर पूजा गर्ने चलन छ ।”
धार्मिक आस्था र सूर्य उपासनासँगै छठ पर्वले बाँसको परम्परागत पेसा र हस्तकलाको संरक्षणमा समेत योगदान पु-याएको छ । व्यापारीहरू पर्वका बेला राम्रै आम्दानी गर्न सफल भएका छन् भने स्थानीय र बाहिरी क्षेत्रबाट आयातित सामग्रीले उपभोक्ताको माग सहजै पूरा गरिरहेका छन् ।





