
नवलपुर । तिहारको अवधिमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा भएका विभिन्न सवारी दुर्घटनामा परी ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार कात्तिक १ गतेदेखि ८ गतेसम्म जिल्लाभर २६ वटा सवारी दुर्घटना भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ती दुर्घटनामा ४८ जना घाइते भएका छन् । दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा धेरै मोटरसाइकल रहेको उनले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा २६ मोटरसाइकल, ८ स्कुटर, तेलको ट्याङ्कर र अटो रिक्सालगायत अन्य ६ सवारीसाधन संलग्न रहेका छन् । यीमध्ये अधिकांश दुर्घटना भित्री सडक खण्डमा भएका थिए ।
सूचना अधिकारी नेपालका अनुसार तीव्र गति, कमजोर सडक अवस्था र चालकको लापरबाही दुर्घटनाका प्रमुख कारण हुन् । उनले ट्राफिक नियम पालना नगरी सवारी सञ्चालन गर्दा क्षति बढी हुने उल्लेख गरे ।





