गुल्मीमा किबीखेतीतर्फ किसानको बढ्दो आकर्षण



गुल्मी — गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका किसान यमबहादुर थापाले किबीखेतीबाट उल्लेखनीय सफलता हासिल गरेका छन् । परम्परागत रूपमा मकै र कोदोखेतीमा निर्भर थापा अहिले आठ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका किबी खेती गर्दै वार्षिक करिब रु ६ लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।

वडा सदस्य समेत रहेका ५६ वर्षीय थापाले करिब ११ वर्षअघि व्यावसायिक रूपमा किबीखेती सुरु गरेका हुन् । हाल उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो र मोन्टी गरी ६ प्रजातिका किबीका बोट फलफूलले भरिएका छन् ।

जलवायु र भौगोलिक दृष्टिले भार्से क्षेत्र किबीखेतीका लागि उपयुक्त मानिन्छ । थापाले गत वर्ष किबी फलफूल र बिरुवा बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यस वर्ष उत्पादन र आम्दानी दुवैमा वृद्धि हुने उनको अनुमान छ ।

थापाका अनुसार किबी खेती सुरु गरेको तीन वर्षपछि उत्पादन दिन थाल्छ र एउटै बोटले ५० किलोदेखि एक क्विन्टलसम्म फल दिन सक्छ । हाल उनको बारीमा करिब १५० वटा किबीका बोट छन् । सुरुवाती चरणमा तार, पाइप र खम्बा जडानमा करिब रु ८ लाख लगानी गरेर उनले यो खेती विस्तार गरेका थिए ।

“यो बहुवर्षीय खेती भएकाले एकपटक लगाउँदा ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यही पेशामा समर्पित छु,” थापाले बताए । उनका अनुसार किबीमा रोगको जोखिम कम हुने भएकाले उत्पादन स्थिर रहन्छ । हरेक वर्ष दुई पटक हाँगा काटछाँट गरी गोठेमल प्रयोग गर्दा उत्पादन राम्रो हुने उनको अनुभव छ ।

स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म भार्सेको किबी रु २०० देखि ३०० रुपैयाँ प्रतिकिलो दरमा बिक्री हुँदै आएको छ । गत वर्षदेखि थापाले किबीबाट वाइन उत्पादन पनि सुरु गरेका छन्, जसको बजारमा राम्रो माग देखिएको छ ।

थापाले पाँच वर्षदेखि किबी नर्सरी सञ्चालन गर्दै आएका छन् । हाल उनको नर्सरीमा आठ हजार नयाँ बिरुवा छन्, जसको मूल्य प्रति बिरुवा रु १५० देखि २०० सम्म पर्छ ।

सत्यवती गाउँपालिकाले भार्से गाउँलाई किबीको पकेट क्षेत्र घोषणा गरी किसानलाई प्रविधिक सहयोग, तालिम, टनेल निर्माण, नर्सरी तथा विरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष टीकाराम पाण्डेले बताए ।

गोल्डेन र रेड किबी सबैभन्दा उत्कृष्ट मानिने र अन्य प्रजातिको तुलनामा यसको मूल्य प्रतिकिलो रु १०० बढी पर्ने किसानहरूले जनाएका छन् ।

हाल भार्सेमा पाँच वटा किबी समूह सक्रिय छन्, जसमा ८० जना किसान आबद्ध छन् । गाउँभर करिब ४० हेक्टर क्षेत्रफलमा किबीखेती फैलिएको छ, जसले भार्सेलाई ‘किबी गाउँ’ का रूपमा स्थापित गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्