नेपाल र चीनबीच पारम्परिक खेलमा सहकार्य



काठमाडौँ ।
चीनको युनान प्रान्तस्थित लिजियाङमा आयोजित “फाल्कन कप” अन्तर्राष्ट्रिय धनुर्विद्या आमन्त्रण प्रतियोगिता तथा “दशौँ झेङजी कप” धनुर्विद्या आमन्त्रण प्रतियोगितामा नेपालले सहभागिता जनाएको छ ।

प्रतियोगितामा हङ्गेरी, थाइल्यान्ड, म्यान्मार र नेपालका साथै चीनका विभिन्न प्रान्तहरू — ग्वाङ्डोङ, सान्डोङ, चोङ्किङ, आनहुई, चिङहाइ, टियानजिन, हङकङ, युनानका कुनमिङ, क्विजिङ, फुमिन, दाली, लिजियाङ, र शाङ्ग्रिलाबाट गरी १ सय ६० खेलाडी सहभागी भएका थिए ।

नेपालका तर्फबाट काठमाडौं झेङजी ट्रेडिसनल आर्चरी एन्ड मार्सल आर्ट अर्गनाइजेसनका सचिव राजीव महर्जन उद्घाटन समारोहमा सहभागी भएका थिए ।

कार्यक्रमका क्रममा नेपालमा परम्परागत आर्चरी, उसु र कुस्ती खेलको प्रवर्द्धन र विकासका लागि चीनको युनानस्थित स्पोर्ट्स इन्स्टिच्युट अफ युनान विश्वविद्यालय, ट्रेडिसनल आर्चरी एसोसिएसन युनान, र कुन्मिङ झेङजी आर्चरी क्लबले सहकार्य गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।

यसैक्रममा ट्रेडिसनल आर्चरी एसोसिएसन युनान शाखाका अध्यक्ष कोङ उइझाङ र मार्सल आर्ट अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनबीच सहकार्य गर्ने नयाँ सम्झौता भएको छ ।

पहिलेका सम्झौताहरूअनुसार दुबै पक्षले प्रशिक्षक आदानप्रदान, नेपाली खेलाडीका लागि प्रशिक्षण अवसर प्रदान, वर्षमा कम्तीमा एक संयुक्त कार्यक्रम आयोजना, तथा नयाँ खेलाडी उत्पादनका लागि सहयोग गर्ने सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्