
काठमाडौँ, कात्तिक ९ गते ।
तेस्रो एसियाली युथ गेम्समा सहभागिता जनाउन नेपाली जुडो टोली सोमबार बहराइन प्रस्थान गर्ने भएको छ । हालै सुरु भएको उक्त प्रतियोगितामा जुडो खेलको प्रतिस्पर्धा आगामी अक्टोबर २९ तारिखदेखि सुरु हुनेछ ।
नेपालका तर्फबाट महिला ४४ केजी तौल समूहमा समिता नेपाली प्रतिस्पर्धा गर्दैछिन् । बन्दी सहायता नियोग (पाम) की खेलाडी समितासँगै उक्त तौल वर्गमा १३ जना खेलाडी प्रतिस्पर्धा गर्नेछन् । समिताको प्रशिक्षण राष्ट्रिय टोली सदस्य देवकीमाया श्रेष्ठले दिँदै आएकी छन् । देवकी स्वयं पनि पामकी सहायक जुडो प्रशिक्षक हुन् ।
टोलीलाई आइतबार नागर्जुन नगरपालिका–१ ले औपचारिक रूपमा बिदाइ गरेको हो । कार्यक्रममा वडा अध्यक्ष रामेश्वर लामा, जुडोका मुख्य प्रशिक्षक वीरेन्द्र रन्जित, पामका कार्यकारी निर्देशक एवं प्रमुख प्रशिक्षक सूर्यनारायण श्रेष्ठ, र पाम सदस्य छविन्द्र श्रेष्ठले शुभकामना दिएका थिए ।
त्यस अवसरमा अध्यक्ष लामाले समिता नेपालीले पदक जितेमा व्यक्तिगत रूपमा २५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरे ।
एसियाली युथ गेम्सकै सिलसिलामा नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र आईटी विज्ञ सुप्रसिद्ध ताम्राकार पनि सोमबारै बहराइन प्रस्थान गर्ने भएका छन् ।





