‘Exercise Cambrian Patrol 2025’ मा स्वर्ण पदक विजेता नेपाली टोली सम्मानित |



काठमाडौँ । मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सम्पन्न ‘Exercise Cambrian Patrol 2025’ मा सर्वोत्कृष्ट अंक सहित स्वर्ण पदक विजेता बनेको नेपाली सेनाको टोलीलाई आज जङ्गी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ ।

प्रधानसेनापति महारथी अशोक राज सिग्देलले मिति २०८२ कार्तिक ९ गते आयोजित सो कार्यक्रममा नेपाली सेनाको गौरव बढाउने उत्कृष्ट उपलब्धिका लागि उक्त टोलीलाई ‘प्रधानसेनापति प्रशंसा निशान’ प्रदान गर्नुभयो ।

अन्तर्राष्ट्रिय स्तरको सैनिक प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै नेपाल र नेपाली सेनाको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा उकास्न योगदान पुर्‍याएको उच्च मूल्याङ्कनस्वरूप नौ जना प्रतियोगी र एक जना व्यवस्थापकसहित कुल दश जना सकलदर्जालाई ‘प्रधानसेनापति प्रशंसा निशान’द्वारा सम्मान गरिएको हो ।

मित्रराष्ट्र बेलायतको वेल्सस्थित ब्रेकनमा २०८२ असोज १७ देखि असोज २६ गतेसम्म सम्पन्न उक्त अभ्यासमा ३३ राष्ट्रका ११७ टोलीहरूले सहभागिता जनाएका थिए । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जाका सैनिकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्