ऐतिहासिक दामादिघी पोखरीमा सरसफाइ अभियान सम्पन्न |



विराटनगर । विराटनगर महानगरपालिका–१८ मा अवस्थित ऐतिहासिक दामादिघी पोखरीमा आज सरसफाइ कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका–१८ को आयोजनामा वडा कार्यालयका कर्मचारी, जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा उक्त अभियान सञ्चालन गरिएको वडा अध्यक्ष जितेन्द्र शाहले जानकारी दिनुभयो ।

सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिने दामादिघी पोखरी लामो समयदेखि फोहर र झारपातले ढाकिँदै आएको थियो । पोखरीको सौन्दर्य र धार्मिक महत्व पुनर्जीवित गर्ने उद्देश्यले सरसफाइ अभियान थालिएको अध्यक्ष शाहले बताउनुभयो । उहाँका अनुसार पोखरीको सरसफाइसँगै संरक्षण, व्यवस्थापन र दिगो विकासका लागि महानगरपालिकाले दीर्घकालीन योजना तयार पार्दैछ ।

कार्यक्रमका सहभागीहरूले पोखरी वरिपरि संकलित प्लास्टिक, झारपात र अन्य फोहर पदार्थ हटाएर क्षेत्रलाई सफा बनाएका थिए । साथै, स्थानीय युवाहरूले पोखरीलाई आकर्षक पर्यटनस्थलका रूपमा विकास गर्न सरोकारवाला निकायहरूसँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

दामादिघी पोखरीलाई विराटनगरको ऐतिहासिक र सांस्कृतिक सम्पदा मानिँदै आएको छ । यस पोखरीले स्थानीय समुदायको पहिचान, धार्मिक आस्था र सामाजिक एकतालाई सुदृढ बनाउने काम गर्दै आएको जनाइएको छ ।

छठ पर्वको अवसर पारेर गरिएको उक्त सरसफाइ अभियानमा सहभागी सबैलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामूहिक अभियानमा निरन्तर सहकार्यका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्