मिथिलामा छठ पर्वको रौनक, तयारीमा व्यस्त जनकपुरधाम



धनुषा । मिथिलामा शुद्धता, आस्था र आपसी सद्भावको प्रतीक पर्व छठको तयारी धमाधम भइरहेको छ। विगतमा मधेसी समुदायमा मात्र सीमित यो पर्व पछिल्ला वर्षहरूमा राजधानी काठमाडौँदेखि पहाडी क्षेत्रसम्म पनि उत्साहका साथ मनाउन थालिएको छ।

यस वर्ष कात्तिक १० गते छठ पर्वको अवसरमा सङ्घीय सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ भने मधेस प्रदेश सरकारले पनि भोलिपल्ट (कात्तिक ११ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मैथिली संस्कृतिका जानकार रामभरोस कापडीका अनुसार मिथिलाञ्चलका सबै गाउँ–सहरका पोखरी, नदी र तलाउहरूमा छठका लागि तयारी सुरु भइसकेको छ। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहका अनुसार जलाशय सरसफाइ, घाट निर्माण, सडक मर्मत र खाल्डाखुल्डी पुर्ने काम तीव्र रूपमा भइरहेको छ।

जनकपुरधामस्थित गङ्गासागर, धनुषसागर र अरगजा पोखरीमा स्थानीय तहको सहयोगमा सरसफाइ र सजावट हुँदैछ। यी पोखरीहरूमा हरेक वर्ष छ हजारदेखि १५ हजार व्रतालु (उपवासी) र भक्तजनको भीड लाग्ने गर्छ।

छठ नजिकिएसँगै बजारमा किनमेलको चहलपहल पनि बढेको छ। क्षीरेश्वरनाथ नगरपालिका–७ की अनिता देवी यादवका अनुसार यस वर्ष केराको मूल्य वृद्धि भएको छ, जबकि छठमा केरालाई मुख्य प्रसादका रूपमा अर्पण गरिन्छ।

धनुषाका महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार, शहीदनगर र वीरेन्द्रबजार लगायतका क्षेत्रमा पनि पोखरी, तलाउ र नदी किनारामा घाट निर्माणको काम तीव्र गतिमा भइरहेको जिल्ला समन्वय समितिका संयोजक राजनन्दन मण्डलले बताए।

छठ पर्वलाई सूर्य उपासना र शुद्धताको पर्वका रूपमा मानिन्छ। यस पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यलाई अर्घ दिइन्छ। धार्मिक दृष्टिले सूर्यलाई वेद र पुराणहरूमा जीवन, शक्ति र समृद्धिको स्रोतका रूपमा उल्लेख गरिएको छ।

वैदिक शास्त्रअनुसार सूर्यलाई ब्रह्मा, विष्णु र रूद्रका स्वरूपमा मानिन्छ। महाभारतदेखि सूर्योपनिषद् र सूर्यपुराणसम्ममा सूर्य उपासनाको विशेष महिमा वर्णन गरिएको पाइन्छ।

छठ पर्वमा पूजनीय देवी षष्ठी (छठमाता) र सूर्यदेव दुवैको आराधना गरिन्छ। अस्ताउँदो सूर्यलाई दिइने अर्घ छठमाताको मानिन्छ भने उदाउँदो सूर्यलाई दिइने अर्घ सूर्यदेवको।

छठ पर्वको इतिहास
सूर्य पुराणका अनुसार कार्तिक शुक्ल षष्ठीका दिन सती अनुसूयाले सर्वप्रथम छठ पर्व आरम्भ गरेकी थिइन्। द्वापर युगमा द्रौपदीले पनि पाण्डवहरूको सफलता र कल्याणका लागि सूर्यदेवको आराधना गरेकी थिइन्। त्यसै समयदेखि यो पर्वको परम्परा चल्दै आएको मानिन्छ।

छठ मनाउने विधि
पर्व चतुर्थीदेखि सुरु हुन्छ।

  • चतुर्थी (नहाय–खाय): व्रतालुले शुद्ध साकाहारी भोजन गर्छन्।
  • पञ्चमी (खरना): दिनभर उपवास बसेर साँझपख दूध, खीर र फलफूल अर्पण गरिन्छ।
  • षष्ठी: व्रतालुले ठकुवा, भुसवा, केरा, उखुजस्ता प्रसाद बनाएर अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन्।
  • सप्तमी (उदयमान सूर्य अर्घ): बिहान पुनः पूजा गरी उदाउँदो सूर्यलाई अर्घ दिइन्छ।

पूजामा प्रयोग हुने सबै सामग्री शुद्ध, स्वदेशी र प्राकृतिक स्रोतबाट तयार पारिन्छ। बाँस, माटो, फलफूल, गेडागुडी र खेतबारीका उत्पादनको प्रयोगले यो पर्व श्रम र स्वावलम्बनको प्रतीक पनि बनेको छ।

सामाजिक र सांस्कृतिक महत्व
छठ पर्वले सम्पूर्ण समाजलाई एउटै सूत्रमा बाँध्ने कार्य गर्छ। जात, धर्म वा वर्गभेद बिना सबै व्रतालु र भक्तजन एकै घाटमा भेला हुन्छन्। यसले समानता, सहिष्णुता र एकताको सन्देश दिन्छ।

यही कारण यो पर्व जनव्रत (जनताको व्रत) का रूपमा परिचित भएको छ। यसले परिवारिक मेलमिलाप, श्रमको सम्मान र पर्यावरण संरक्षणको सन्देश पनि दिन्छ।

मिथिलाको गङ्गासागरदेखि सहरका साना पोखरीसम्म अहिले छठको तयारी, सरसफाइ र सजावटको चटारो छ। आस्थाको महापर्व छठ नजिकिँदै जाँदा मिथिला साँच्चिकै श्रद्धा, शुद्धता र आस्थाले भरिएको क्षेत्र बनेको छ।

प्रतिक्रिया दिनुहोस्