माइतीघरमा जेनजीको धर्ना, सबै जिल्लामा सम्मेलनको माग |



काठमाडौँ । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै जेनजी समूहले शुक्रबार माइतीघरमा धर्ना दिँदै देशभर जेनजी सम्मेलन आयोजना गर्न माग गरेको छ ।

धर्नामा सहभागी युवाहरूले सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय जेनजी सम्मेलन आयोजना गर्नुपर्ने माग गर्दै सरकारको ध्यानाकर्षण गराए । उनीहरूले जेनजी आन्दोलनलाई एकताबद्ध बनाएर देशव्यापी रूपमा सशक्त बनाउने उद्देश्य रहेको बताए ।

“सबै जिल्लामा जेनजी सम्मेलन गरी काठमाडौँमा केन्द्रीय सम्मेलन गर्नुपर्छ, जहाँ सम्पूर्ण देशका प्रतिनिधिहरूको सहभागिता हुनेछ,” जेनजी प्रतिनिधि सदिक्षा राईले भनिन् । उनका अनुसार सम्मेलनमार्फत प्रदेशगत प्रतिनिधि छनोट गरिनेछ ।

राईले हालको सरकार शहीदहरूको बलिदानबाट जन्मिएको जनाउँदै नयाँ पुस्ताको आशा, ऊर्जा र भविष्यको रक्षा गर्नु सरकारको जिम्मेवारी भएको बताइन् । “सरकार नेताहरूको मात्र नभई जनता र शहीदको सपना बोकेको संस्था हो,” उनले भनिन् ।

त्यस्तै, जेनजी आन्दोलनका घाइते मदन कार्कीले जेनजीको नाममा गुटबन्दी र विभाजन रोक्न आग्रह गर्दै देशभरका जेनजीहरूलाई एकतामा आउन आह्वान गरे । “हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ । सरकारले पनि यो एकता सुदृढ गर्न सहयोग गर्नुपर्छ,” उनले भने ।

धर्नामा सहभागीहरूले ‘जेनजीका माग पूरा गर’, ‘शहीदको रगत नबिर्स’, ‘देशका घाउ हाम्रो जिम्मेवारी’, ‘राष्ट्र पहिले, अहंकार पछि’, ‘देश दुःख्दा मौन नबसौँ, एक हौँ’ जस्ता नारासहितका प्लेकार्ड र राष्ट्रिय झण्डा प्रदर्शन गरेका थिए ।

जेनजी आन्दोलनका घाइते, शहीद परिवार र विभिन्न युवासंघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको उक्त धर्नाको उद्देश्य गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका मागहरू पूरा गर्न सरकारलाई दबाब दिने रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्