
काठमाडौँ । नेपाली सेनाले काठमाडौँ–तराई मधेस द्रुतमार्ग तोकिएको म्यादमै सम्पन्न हुने र लागत पनि नबढ्ने स्पष्ट पारेको छ ।
सेनाका युद्धकार्य निर्देशक मनोज थापाका अनुसार सेनाले हालसम्म रणनीतिक महत्त्वका ३२ सडक आयोजना सम्पन्न गरी एक हजार ४०० किलोमिटरभन्दा बढी सडकको ‘पाइलट ट्रयाक’ सरकारलाई हस्तान्तरण गरिसकेको छ ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कर्णाली करिडोरअन्तर्गत खार्पुनाथस्थित चुवा खेलामा बेलिब्रिज जडान भएसँगै हुम्ला अब राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । यो सफलतामा पनि सेनाको उल्लेखनीय योगदान रहेको थापाले बताए ।
सेनाले हाल खाँदवारी–किमाथाङका, कर्णाली करिडोर, बनीघाट–आरुघा–लर्कभञ्ज्याङ र दार्चुला–टिंकरणसहित पाँच वटा सडक आयोजनाअन्तर्गत करिब २७४ किलोमिटर सडक निर्माण गर्दैछ । यी सबै आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सेनाले प्राथमिकता दिएको उनले उल्लेख गरे ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी वि.सं. २०७४ वैशाखमा सेनाले पाएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृतिमा ढिलाइ भए पनि हाल काम तीव्र गतिमा अगाडि बढिरहेको सेनाका आयोजना निर्देशक धर्मेन्द्रकुमार झाले जानकारी दिए ।
उनका अनुसार ७०.९७७ किलोमिटर लम्बाइको द्रुतमार्गको हाल भौतिक प्रगति ४३.६ प्रतिशत र वित्तीय प्रगति ४४.७२ प्रतिशत पुगेको छ ।
आयोजनाअन्तर्गत ८७ भन्दा बढी पुल निर्माण हुनेछन्, जसमा केही पुल ८२ मिटर उचाइका विशेष संरचना हुने छन् । यीमध्ये अधिकांश पुल अन्तिम चरणमा पुगेका छन् ।
झालेका अनुसार द्रुतमार्ग वि.सं. २०८३ चैत मसान्तभित्रै सम्पन्न हुनेछ र लागत प्रारम्भिक अनुमान रु. २ खर्ब १३ अर्बभित्रै सीमित रहनेछ ।
द्रुतमार्ग पूरा भएपछि मध्य तराई र काठमाडौँ उपत्यकाबीचको दूरी छोटिने, ढुवानी लागत तथा समय दुवै घट्ने र मुलुकको समग्र आर्थिक विकासमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरिएको छ ।
हाल आयोजनाअन्तर्गत सात सुरुङमध्ये दुई वटा छिचोलिएका, दुई वटा निर्माणाधीन र तीन वटाको ‘पोर्टल’ कार्य जारी रहेको सेनाले जनाएको छ ।
सेनाले द्रुतमार्ग तोकिएको समयसीमाभित्र सम्पन्न गर्न विशेष प्रयास जारी राखेको निर्देशक झाले पुनः दोहोर्याए ।





