
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले न्युजिल्यान्डका अलराउन्डर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ। पहिलो सिजनमा उत्कृष्ट प्रदर्शन गरेका स्कटलाई टिमले पुनः अनुबन्ध गर्न पाउँदा गर्व महसुस गरेको जनाएको छ।
पहिलो संस्करणमा स्कट कुगेलेइन संयुक्त रूपमा सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका थिए। उनको उत्कृष्ट प्रदर्शनले सुदूरपश्चिम रोयल्सलाई सशक्त टिमको रूपमा उभ्याउन महत्वपूर्ण भूमिका खेलेको थियो।
टिमका मालिक स्वत्रन्त्र प्रताप शाहले स्कटको पुनरागमनले टिमको बलिङ आक्रमण थप मजबुत हुने र ब्याटिङ लाइनअपमा पनि गहिराइ आउने विश्वास व्यक्त गरे। उनले भने, “स्कटको अनुभव र अलराउन्ड क्षमताले हाम्रो टिमलाई थप सन्तुलित बनाउनेछ।”
स्कट कुगेलेइनले पनि नेपाल फर्कन पाउँदा खुशी व्यक्त गर्दै भने, “म पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न उत्साहित छु। यस सिजन टिमलाई सफलता दिलाउन म मेरो सबै प्रयास गर्नेछु।”
सुदूरपश्चिम रोयल्सले आगामी दोस्रो सिजनमा बलियो टिमका साथ मैदानमा उत्रिने तयारी गरिरहेको जनाएको छ।





