
पोखरा । पोखरा एभेन्जर्सले आगामी एनपिएल (नेपाल प्रिमियर लिग) — सिजन २ का लागि इंग्ल्यान्डका अनुभवी विकेटकिपर तथा आक्रामक ब्याटर एडम रोसिङटनलाई अनुबन्ध गरेको छ। मंसिर १ देखि २७ सम्म हुने प्रतियोगिताका लागि टोलीले आफ्नो शीर्ष–क्रम सुदृढ बनाउन ३२ वर्षीय रोसिङटनलाई टोलीमा समावेश गरेको हो। यससँगै रोसिङटन पहिलोपटक नेपालमा प्रतिस्पर्धात्मक क्रिकेट खेल्ने भएका छन्।
रोसिङटनले घरेलु स्तरमा लामो र सफल क्यारियर बिताएका छन्। उनले मिडलसेक्सबाट खेल जीवन सुरु गरी नर्थह्याम्पटनसायर र एसेक्सका लागि खेलेका छन्। काउन्टी क्रिकेटमा उनले एक सयभन्दा बढी पहिलो श्रेणीका खेल खेलेका छन् भने टी–२० फर्म्याटमा सयौँ खेलमा सहभागी भई करिब ३,५०० रन बनाइसकेका छन्। दायाँ हाते ब्याटर र विकेटकिपरका रूपमा तीव्र र टिकाउ खेल प्रस्तुत गर्ने उनी पावरप्लेमा आक्रामक सुरुवात गराउन सक्षम खेलाडी मानिन्छन्।
रोसिङटनले विश्वका प्रमुख टी–२० लिगहरूमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन्। पाकिस्तान सुपर लिगमा कराची किङ्सबाट उनले सानदार प्रदर्शन गरेका थिए। दक्षिण अफ्रिकाको एसए–२० लिगमा सनराइजर्स ईस्टर्न केपबाट खेल्दै पहिलो संस्करणमै उपाधि जित्न सहयोग गरेका उनले फाइनलमा ३० बलमा ५७ रनको प्रभावशाली पारी खेलेका थिए। साथै उनले संयुक्त अरब इमिरेट्सको आईएलटी–२० लिगमा दुबई क्यापिटल्स र इंग्ल्यान्डको ‘द हन्ड्रेड’ लिगमा लन्डन स्पिरिटको प्रतिनिधित्व पनि गरेका छन्।
पोखरा एभेन्जर्सले रोसिङटनलाई स्वागत गर्दै उनको अनुभव र आक्रामक खेल शैलीले टोलीको प्रदर्शनमा नयाँ ऊर्जा र उचाइ ल्याउने विश्वास व्यक्त गरेको छ। रोसिङटनले पनि नेपालमा पहिलोपटक खेल्ने अवसर पाउँदा उत्साहित रहेको बताएका छन् र पोखराका समर्थकहरूलाई उत्कृष्ट प्रदर्शनमार्फत खुसी पार्ने प्रतिबद्धता जनाएका छन्।





