
धनुषा । दिपावली सम्पन्नसँगै मिथिलाञ्चलको सांस्कृतिक राजधानी जनकपुरधाममा छठ पर्वको तयारी तीव्र गतिमा अघि बढेको छ । स्थानीयवासीको सक्रिय सहयोगमा शहरका विभिन्न पोखरी र तालहरूलाई आकर्षक रूपमा श्रृङ्गार्ने काम सुरु गरिएको छ । कतिपय छठघाटहरूमा सरसफाइ र मर्मतका काम पूरा भएका छन् ।
नीति आयोग मधेस प्रदेशका पूर्व उपाध्यक्ष डा. भोगेन्द्र झाले छठ पर्व तराइको प्रमुख सांस्कृतिक उत्सव भएको बताउँदै जनकपुरधामका गङ्गासागर, धनुषसागर, अरगजा, रत्नसागर, दशरथ तलाउ, मटकोरबा पोखरी, दूधमतीघाटलगायत स्थानमा विशेष तयारी भइरहेको जानकारी दिए ।
छठ मनाउनेको सङ्ख्या वर्षेनि बढ्दै जाँदा बजारमा किनमेल गर्ने भीड बढेको छ । यस वर्ष छठका सामग्रीहरूमा मूल्य वृद्धि भएको स्थानीय रुक्मिणी साहले बताइन् ।
पण्डित कुशेश्वर उपाध्यायका अनुसार यो पर्व कात्तिक १० गते (सोमबार) षष्ठी तिथिदेखि विधिपूर्वक सुरु हुनेछ । छठ पर्व तीन चरणमा सम्पन्न हुने बताउँदै उनले भने, “पहिलो दिन बर्तालुले नहायखाय गरी पर्वको आरम्भ गर्छन् । दोस्रो दिन खरना विधि गरिन्छ, जसलाई पाप क्षय हुने दिन मानिन्छ । बेलुकीपख चन्द्र दर्शनपछि माटोको नयाँ चुल्होमा सख्खर, दूध र चामलको खीर पकाएर छठी मातालाई अर्पण गरिन्छ।”
उनीका अनुसार अर्को दिन बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रत समाप्त हुन्छ । यस पर्वमार्फत पारिवारिक सुख, शान्ति, स्वास्थ्य र मनोकाङ्क्षा पूरा होस् भन्ने कामना गरिन्छ ।
पण्डित अमरकान्त झाले सूर्यको आराधनाबाट समृद्धि, सन्तानप्राप्ति र रोगमुक्ति हुने जनविश्वास रहेको बताए । ज्योतिषशास्त्रका आधारमा यो समय सूर्य दक्षिणयनतिर हुने र कन्या राशिमा पर्ने भएकाले यसको प्रभाव फलदायी हुने बाबा विभाष लाभले बताए ।
छठका प्रसादमा ठकुवा, भुसवा, केरा, फलफूल, मिठाइ, अदुवा, माटाका हात्ती, दियो, घैटो, बाँसका टोकरी, उखु लगायत सामग्री आवश्यक पर्ने जनाइएको छ ।
धनुषा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमका अनुसार जनकपुरधाममा छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । छठघाटमा थप सुरक्षाकर्मी परिचालन गरिनेछ ।
चार दिनसम्म चल्ने यो पर्वमा बर्तालुले माछा, मासु, लसुन, प्याज, कोदो, भन्टा, मसुराजस्ता पदार्थ त्याग गरी व्रत बस्ने परम्परा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जानकारी दिए । उनका अनुसार अत्रिमुनिकी पत्नी अनसुइयाले पहिलोपटक छठ व्रत गरेकी थिइन्, जसबाट यो पर्वको परम्परा सुरु भएको हो ।
छठ पर्व धार्मिक आस्था मात्र नभई वैज्ञानिक र प्राकृतिक सन्तुलनसँग पनि जोडिएको जनाउँदै जानकार रोशन जनकपुरीले भने, “सूर्य तत्व ज्ञान र ऊर्जाको स्रोत भएकाले छठ जनकल्याण र आत्मशुद्धिको प्रतीक हो।” राजर्षी जनक विश्वविद्यालयका रजिस्ट्रार सत्यनारायण साहका अनुसार “मानव, प्रकृति र सूर्यबीचको सम्बन्धलाई सम्मान गर्ने पर्वका रूपमा छठले भौतिक र आध्यात्मिक जीवनको सन्तुलन दर्शाउँछ ।”





