
भक्तपुर । देशभर तिहारको रंगीन रौनक छाएको छ, तर भक्तपुरका किसान भने खेतमै व्यस्त छन्—पाकेको धान भित्र्याउने चटारोमा। असिना र अविरल वर्षाको सम्भावनाले चिन्तित किसानले चाडपर्वको रमाइलोभन्दा धान सुरक्षित राख्नुलाई प्राथमिकता दिएका छन्।
हरेक बिहानदेखि बेलुकीसम्म खेत–खेतमा धान काट्ने र भित्र्याउने किसानहरूको गतिविधि देख्न सकिन्छ। चाँगुनारायण नगरपालिका–९ ताथलीका किसान सानुभाइ गिरी भन्छन्, “दशैं–तिहारको रौनक त छँदै छ, तर असिना र पानीको डरले पाकेको धान छिट्टै भित्र्याउन थालेका हौँ। धेरै किसानले तिहारको मखमली रङभन्दा धानको सुनौलो बालिलाई सुरक्षित राख्न रोजेका छन्।”
गिरीले भाइटिकाको दिन मात्र विश्राम गर्ने र बाँकी दिन खेतमै बिताउने योजना बनाएको बताए। उनका अनुसार सबै धान काट्न अझै दुई साता लाग्ने अनुमान छ।
यता, चिउरा मिल सञ्चालकहरू चिउराका लागि सिधै खेतमै पुगेर धान किन्ने क्रम बढेपछि कतिपय किसानले हरियो धानसमेत काटेर बिक्री गर्न थालेका छन्। चाँगुनारायण–७ बागेश्वरीकी प्रमिला कार्कीले भनिन्, “मिल सञ्चालकले ताइचिन धान प्रतिकिलो ८० रुपैयाँका दरले खेतमै उठाउन आएका छन्। त्यसैले धान काट्ने बित्तिकै बेच्न थालेका हौँ।”
सूर्यविनायक–९ चित्तपोलकी सुभद्रा बस्नेतका अनुसार तिहारको व्यस्ततासँगै धान भित्र्याउने काम थपिएको छ। उनले भनिन्, “यो त वर्षभरको कमाइ हो, समयमै नगरे जोखिम बढ्छ।”
ताथली, सुडाल, चित्तपोल, नङ्खेल, कटुन्जे, गुण्डु, सिपाडोल, छालिङ्ग, वागेश्वरी, नगरकोट, दुवाकोट र झौखेललगायत क्षेत्रका किसान अहिले धान काट्ने र भित्र्याउने काममा तल्लीन छन्।
सूर्यविनायक–७ गुण्डुका किसान रविन्द्र बस्नेतले भने, “असिना पानीको डरले धेरै किसानले हरियो धानै काट्न थालेका छन्। तिहार कुर्ने फुर्सद छैन, बादल मडारिँदा नै आत्तिन्छौँ। सबैजना आफ्नै खेतमा व्यस्त भएकाले ज्यामी पनि पाइँदैन, पर्म गर्ने परम्परा पनि हराउँदैछ।”
तिहारको उज्यालोले देशभर घर–घर सजाउँदा भक्तपुरका किसानहरू भने खेतमा सुनौलो बालि भित्र्याउँदै आफ्ना चुल्होका लागि उज्यालो साँचिरहेका छन्।





