
काठमाडौँ । नेपाली राष्ट्रिय भलिबल खेलाडी कामना बिष्टले माल्दिभ्समा जारी नाइबोली भलिबल च्याम्पियनसिप २०२५ मा लगातार उत्कृष्ट प्रदर्शन गर्दै सबको ध्यान तानेकी छन्। अक्टोबर १३ देखि ३० तारिखसम्म चल्ने प्रतियोगितामा उनी माल्दिभ्सकै नैफारू चेल्सी स्पोर्ट्स क्लबबाट प्रतिस्पर्धा गरिरहेकी छन्।
प्रतियोगिताको पहिलो खेलमै नैफारूले २५–१२, २५–०२ र २५–२१ को सोझो सेटमा ३–० को जित दर्ता गर्दै दमदार सुरुवात गरेको थियो। दोस्रो खेलमा पनि टिमले २५–२१, २२–२५, २५–२२ र २५–१० को सेट स्कोरसहित ३–१ को जीत हासिल गर्यो।
तेस्रो खेल झन् रोचक रह्यो, जहाँ दुई नेपाली खेलाडीबीच प्रत्यक्ष भिडन्त भयो — कामना बिष्टको टिम नैफारू चेल्सी र उषा भण्डारीको टिम आमनेसामने परे। पाँच सेटसम्म चलेको तीव्र प्रतिस्पर्धामा कामनाको टिमले २१–२५, २५–२१, ०७–२५, २५–१३ र १५–१३ को नतिजासहित ३–२ को जित हात पार्यो।
कामनाले लगातार तीनै खेलमा ‘प्लेयर अफ द म्याच (POTM)’ को उपाधि जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छन्। उनका सशक्त स्पाइक, बलियो ब्लक र खेलप्रतिको समर्पणले टिमलाई लगातार जिततर्फ डोर्याएको छ।
हालसम्म तीनै खेल जितेको नैफारू चेल्सी स्पोर्ट्स क्लब सेमिफाइनलको ढोका नजिक पुगेको छ। अन्तर्राष्ट्रिय मञ्चमा कामनाको यस्तो प्रदर्शनले नेपाली भलिबलको प्रतिष्ठा र गौरवलाई थप उचाइमा पुर्याएको छ।
कामना बिष्टको यो उपलब्धि केवल व्यक्तिगत सफलता होइन, नेपाली महिला भलिबलको इतिहासमा अर्को प्रेरणादायी अध्याय बनेको छ।





