जेनजी आन्दोलनका घाइतेहरू भन्छन् : “घाउ त निको हुन्छ, तर चाडबाडको सम्झनाले मन अझै पोल्छ”



काठमाडौँ । भदौ २३ गतेको जेनजी आन्दोलनले धेरैको जीवनमा अमिट घाउ छोडेको छ । शारीरिक पीडा त छँदैछ, तर अहिले दशैँ–तिहारजस्ता चाडपर्वमा ती घाइतेहरूलाई बढी पोलिरहेको छ — उत्सवको सम्झना र परिवारसँग बिताउने खुसीका क्षणहरूको तिर्सना।

सप्तरीकी ४८ वर्षीया गीता साह त्यस दिन कोटेश्वरस्थित आफ्नै घडी पसलमा थिइन् । माइतीघरबाट सुरु भएको प्रदर्शन कोटेश्वर पुग्दा उनले बाहिर निस्केर हेर्ने सोचिन् । तर केही क्षणमै पेट्रोलसहितको आगो उनको शरीरमा सल्कियो । तत्काल उद्धार गरी कान्तिपुर अस्पताल पुर्‍याइएकी साहलाई पछि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) लगियो ।

हाल उनी केएमसीको प्लाष्टिक सर्जरी वार्डको बेड नं २४४ मा उपचाररत छन् । शरीरको १८ प्रतिशत भाग—विशेषगरी कम्मरमुनि र दायाँ हात—गम्भीर रूपमा जलेको छ ।

“घाउ त दुख्छ नै, तर मन अझ बढी पोल्छ,” साहले भनीन्, “बाहिर तिहारको रौनक देख्छु, तर म अस्पतालको बेडमै छु । दशैँ–तिहार मनाउन नपाउँदा मन भारी भएको छ।”

हाम्रो समाजमा गाईपूजा, दीपावली, भाइटीका जस्ता पर्वमा साहको घर र पसल झिलिमिली सिँगारिन्थ्यो । तर यो वर्ष त्यो चमक मन्द भएको छ । “डेढ महिनादेखि अस्पतालमा छु, अब त थाकिसकें,” उनले भनीन् । अहिले उनका छोरा राहुलले पसलको जिम्मा सम्हालेका छन्, तर गीता चिन्तित छन् — छोरा विदेश जाने तयारीमा थिए, अब त्यो योजना अनिश्चित बनेको छ।

त्यसै अस्पतालको हाई केयर युनिटमा उपचाररत छन् काभ्रेका २७ वर्षीय कमल घिमिरे । उनका आमाबुबा भक्तपुरको राधेराधेमा गाई फार्म चलाउँछन् । आन्दोलनको दिन दूध पु-याउन बानेश्वर पुगेका कमललाई प्रदर्शन चर्किँदै जाँदा चलाएको गोलीले छातीमा लागेको थियो ।

“गोलीले फोक्सोमा ठूलो असर पुर्‍याएको छ,” उनका काका प्राणनाथ घिमिरेले भने, “अब केही बोल्न सक्छ, तर शरीर निकै कमजोर छ ।” सरकारबाट उपचार निःशुल्क भए पनि औषधी र खानाको खर्च परिवारका लागि ठूलो बोझ बनेको छ ।

कमलका लागि पनि यो चाडपर्व अस्पतालमै बितिरहेको छ । “दसैँमा जसोतसो टीका लगाइयो, तर तिहारमा त उसको मन झन् खल्लो छ,” काकाले भने,“अस्पतालमा भाइटीका गर्न सजिलो छैन ।”

घाइतेहरूका अनुसार शारीरिक घाउ निको पार्न सकिएला, तर मनमा बसेको पीडा — चाडपर्वमा घरपरिवारसँग नबस्न पाउनु — त्यो अझै गहिरो छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले देशभर विभिन्न अस्पतालमा ११ जना जेनजी आन्दोलनका घाइते उपचाररत छन् । तीमध्ये ४ जना राष्ट्रिय ट्रमा सेन्टरमा, ३ जना त्रिवि शिक्षण अस्पतालमा, १ जना बि एन्ड बि अस्पतालमा, १ जना नोबेल मेडिकल कलेजमा र बाँकी अन्य अस्पतालमा छन् । आन्दोलनका क्रममा घाइते भएर उपचारका लागि २ हजार ५७१ जना अस्पताल पुगेका थिए ।

शारीरिक घाउ विस्तारै निको हुँदै जाला, तर ती दिनको सम्झना र चाडबाडमा अपूरो रहन गएको चाहना— त्यो घाइतेहरूका लागि अझै पनि निको नहुने घाउ बनेको छ ।

प्रतिक्रिया दिनुहोस्