लोकतन्त्रलाई आधार बनाएर मात्र देश अगाडि बढ्न सक्छः संयोजक दाहाल |



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रलाई सुदृढ गर्दै प्राप्त उपलब्धिहरूमाथि टेकेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन् ।

नेपाल संवत् ११४६ को शुभ अवसरमा शुभकामना सन्देश जारी गर्दै संयोजक दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक प्रणालीजस्ता उपलब्धिहरू हाम्रो राष्ट्रको मूल आधार रहेको उल्लेख गरे । उनले भने, “आज हामी राष्ट्रलाई पुनः एकताबद्ध गर्दै अग्रगामी यात्रातर्फ अघि बढ्ने निर्णायक मोडमा छौँ । लोकतन्त्रको सुदृढ ‘सर्भिसिङ’ बिना अहिले देखा परेका जटिलता समाधान हुन सक्दैन ।”

नेपाल संवत् नेपाली जनताको ऐतिहासिक गौरव, सांस्कृतिक पहिचान र राष्ट्रिय एकताको प्रतीक रहेको बताउँदै दाहालले यस संवत् सबै जातजाति र समुदायहरूको साझा गौरव भएको उल्लेख गरे । उनले भने, “यो नेपालीहरूको मौलिक संवत् हो, जसप्रति हामी सबैले गर्व गर्नुपर्छ ।”

परिवर्तनका पक्षमा रहेका सबै राजनीतिक शक्तिबीच राष्ट्रिय एकता अहिलेको आवश्यकता भएको औंल्याउँदै संयोजक दाहालले संविधानको पूर्ण कार्यान्वयन, आत्मसमीक्षा र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको साझा संकल्प नै नेपाल संवत् ११४६ को वास्तविक शुभकामना हुने बताए ।

प्रतिक्रिया दिनुहोस्