अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन नेपाली महिला फुटबल टोली भारत प्रस्थान |



काठमाडौँ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भाग लिन नेपाली राष्ट्रिय महिला फुटबल टोली आज भारत प्रस्थान गरेको छ । भारतको सिलोङमा आयोजना हुने उक्त प्रतियोगितामा आयोजक भारतसँगै नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।

त्रिदेशीय प्रतियोगिताअन्तर्गत नेपालले पहिलो खेल यही कात्तिक ७ गते इरानविरुद्ध र दोस्रो खेल कात्तिक १० गते भारतविरुद्ध खेल्ने कार्यक्रम छ । दुवै खेल सकिएपछि नेपाली टोलीले कात्तिक १३ गते भारतसँग मैत्रीपूर्ण खेल पनि खेल्नेछ ।

उक्त प्रतियोगिताका लागि विदेशमा व्यावसायिक फुटबल खेलिरहेकी खेलाडीहरू प्रीति राई, सावित्रा भण्डारी (साम्बा), पूजा राई र एन्जिला तुम्बापो सुब्बा नेपाल फर्किएका छन् ।

नेपाली टोलीमा कप्तान सावित्रा भण्डारीसहित अनिता बस्नेत, अन्जना राना मगर, एन्जिला तुम्बापो सुब्बा, विमला विक, दीपा शाही, हीराकुमारी भुजेल, मनमाया दमाई, मिना देउवा, निशा थोकर, प्रीति राई, प्रतिक्षा चौधरी, पूजा राना, पूर्णिमा राई, रश्मीकुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता राना मगर, सजनी थोकर, समीक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बू र उषा नाथ छन् । टोलीको प्रशिक्षक नवीन न्यौपाने रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्