
ताप्लेजुङ । ताप्लेजुङका किसान यतिबेला अलैँची टिपाइमा व्यस्त छन् । दसैँ–तिहारको चटारोभन्दा बढी उनीहरू बगानमै रमाइरहेका छन् । बिहानदेखि बेलुकीसम्म टिपाइमा खटिएका किसानमध्ये धेरैजना राति पनि भट्टिमै बसेर काम गरिरहेका छन् ।
फक्ताङलुङ गाउँपालिका–६ का किसान रोशन लिम्बूका अनुसार गाईवस्तु भएका किसानका केही सदस्य मात्र बेलुका घर फर्किन्छन्, बाँकी सबै बगानमै बास बस्छन् । उनले भने, “टिप्ने बेला गुमायो भने वर्षभरको मेहनत खेर जान्छ, त्यसैले सबै बगानमै खटिएका छन् ।”
फुङ्लिङ नगरपालिका–७ का किसान खाङडु शेर्पा करिब एक महिनादेखि निरन्तर बगानमै बसिरहेका छन् । उनले दसैँ परिवारसहित बगानमै मनाएका छन् र तिहार पनि त्यहीं मनाउने तयारीमा छन् । “चालीस वर्षदेखि अलैँचीखेती गर्दै आएको छु,” उनले भने, “सिक्किमबाट बिरुवा ल्याएर सुरु गरेका थियौँ ।”
शेर्पाको ८० रोपनी बगान टिपाइसक्ने योजना छ । तर टिपाइपछि छोडाउने, सुकाउने र भट्टिमा तयारी गर्न झण्डै एक हप्ता लाग्ने उनको भनाइ छ । जिल्लामा बेँसी क्षेत्रमा भदौको पहिलो सातादेखि र लेकाली क्षेत्रमा मङ्सिरसम्म अलैँची टिप्ने चलन रहेको छ ।
ताप्लेजुङका नौ स्थानीय तहमध्ये फक्ताङलुङ–७ को ओलाङचुङगोलाबाहेक सबै वडामा अलैँचीखेती हुँदै आएको छ । हाल करिब चार हजार ४५० हेक्टर क्षेत्रफलमा व्यावसायिक खेती भइरहेको कृषि ज्ञान केन्द्र ताप्लेजुङले जनाएको छ ।
यस वर्षको मूल्यले किसानमा थप उत्साह भरेको छ । आइतबार ताप्लेजुङमा प्रतिमन (४० केजी) खलैँचीको मूल्य रु ८८ हजारमा खरिद–बिक्री भएको व्यवसायी कमल बरालले बताए ।
अलैँची खेतीले स्थानीय स्तरमा रोजगारको अवसर पनि बढाएको छ । बगानमा काम गर्ने मजदुरले दैनिक ५०० देखि ७०० रुपैयाँसम्म ज्याला पाउँदै आएका छन् ।





