
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा फस्टाएको व्यावसायिक अकबरे खुर्सानी खेती अहिले देशभरका किसान र कृषि विज्ञका लागि उदाहरणीय सिकाइ केन्द्र बनेको छ। यहाँका किसानले अपनाएको आधुनिक प्रविधि र हासिल गरेको उल्लेखनीय आम्दानीले अन्य जिल्लाका कृषकहरूलाई समेत आकर्षित गरेको छ।
गाउँपालिकाभित्र करिब चार सय हेक्टर क्षेत्रफलमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ, जसमा करिब नौ सय किसान संलग्न छन्। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईका अनुसार विभिन्न प्रदेश र जिल्लाबाट किसान र कृषि विज्ञ अध्ययन र अवलोकनका लागि पौवादुङमा आउने क्रम बढ्दो छ।
हालै सिन्धुलीको दूधौली नगरपालिकाका कार्यवाहक प्रमुख नन्दकिशोर थारु नेतृत्वको टोलीले पौवादुङमा पुगेर यहाँको खेती प्रविधि, आम्दानी र सामना गरिएका चुनौतीबारे प्रत्यक्ष जानकारी लिएको थियो। थारुले त्यहाँको सफल मोडेलबाट सिकेर आफ्नो नगरपालिकामा पनि यस्तै कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताए।
गाउँपालिका अध्यक्ष किरण राईका अनुसार गत वर्ष अकबरे खुर्सानी बिक्रीबाट मात्रै १८ करोड रुपैयाँ आम्दानी भएको थियो। उनका भनाइमा, खुर्सानी खेती अहिले स्थानीयको मुख्य आम्दानी स्रोत मात्र होइन, अध्ययन र अवलोकन केन्द्रको रूपमा पनि विकास भइसकेको छ।
गाउँपालिकाले गत आर्थिक वर्षमा ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरका मल्चिङ प्लास्टिकलगायत कृषि सामग्री वितरण गरेको उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिइन्।
स्थानीय किसान ठंगजीत राईले ४२ रोपनी जग्गामा करिब ३२ हजार बिरुवा लगाएर वार्षिक ५५ देखि ६० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन्। उनका अनुसार अकबरे खुर्सानी खेतीले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै कृषि पर्यटनको सम्भावना समेत विस्तार गरेको छ।





