
काठमाडौँ । नेपाली साहित्यका अमर स्रष्टा तथा विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती सोमबार देशभरका साथै विदेशमा पनि विविध कार्यक्रमहरू आयोजना गरी मनाइँदैछ। महाकवि देवकोटाको जन्म वि.सं. १९६६ सालको लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो।
केवल दश वर्षको उमेरदेखि नै साहित्यिक यात्रा सुरु गरेका देवकोटाले कविता, कथा, निबन्ध, नाटक र खण्डकाव्यसहित सयभन्दा बढी कृति सिर्जना गरे, जसले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा उचाइमा पुर्यायो। आधुनिक नेपाली साहित्यका प्रवर्तक मानिने उनको ‘मुनामदन’ नेपाली भाषाको सबैभन्दा बढी बिक्री भएको कृति आज पनि जनमानसमा अमर छ।
स्वच्छन्दतावादी र प्रगतिवादी धाराका अग्रदूत देवकोटाका रचनामा मानवता, प्रकृतिप्रेम र सामाजिक चेतनाको प्रखर अभिव्यक्ति पाइन्छ। उनले तीन महिनामा ‘शाकुन्तल’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेर अद्वितीय सृजनात्मक क्षमता देखाएका थिए।
भारतीय विद्वान् महापण्डित राहुल साङ्कृत्यायनले देवकोटालाई भारतका तीन महाकवि—सुमित्रानन्दन पन्त, जयशङ्करप्रसाद र सूर्यकान्त निराला—को संयुक्त स्वरूपका रूपमा चित्रित गरेका थिए।
वि.सं. २०१६ मा शिक्षामन्त्री रहँदा उनले नेपाली भाषालाई राष्ट्रिय शिक्षाको अनिवार्य विषयका रूपमा लागू गर्नेसँगै वर्तमान नेपाल प्रज्ञा–प्रतिष्ठानको संस्थागत जग बसाल्ने ऐतिहासिक योगदान दिएका थिए।





