मेची भन्सारले पहिलो त्रैमासमा सवा चार अर्बभन्दा बढी राजस्व सङ्कलन |



झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास (साउन, भदौ र असोज) अवधिमा ९५ प्रतिशत राजस्व असुली गरेको छ ।

पूर्वी नाका काँकडभिट्टास्थित भन्सार कार्यालयले तीन महिनामा ४ अर्ब ३६ करोड २८ लाख ५५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ उठाउन सफल भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए ।

उक्त अवधिमा सबैभन्दा बढी राजस्व आयातित वस्तुको भन्सार महसुलतर्फबाट प्राप्त भएको छ, जसको मात्रा १ अर्ब ८० करोड ५३ लाख ७९ हजार रुपैयाँभन्दा बढी रहेको छ । सोही क्रममा मूल्य अभिवृद्धि करतर्फ पनि १ अर्ब ४९ करोडभन्दा बढी राजस्व सङ्कलन भएको छ ।

जेनजी आन्दोलनका कारण व्यापारिक गतिविधि केही प्रभावित भए तापनि असोज महिनामा भन्सारले अपेक्षाभन्दा राम्रो राजस्व सङ्कलन गरेको छ । असोज महिनाको १ अर्ब ५० करोड ४९ लाख २४ हजार रुपैयाँको लक्ष्य राखिएकोमा १ अर्ब ५२ करोड २४ लाख ९० हजार रुपैयाँ राजस्व असुली गरी मासिक लक्ष्यको १०१ प्रतिशत उपलब्धि हासिल गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्