
काठमाडौँ । चालु आर्थिक वर्षका लागि सरकारको कुल छ लाख मेट्रिक टन रासायनिक मल आयात गर्ने लक्ष्यमध्ये हालसम्म चार लाख ७१ हजार तीन सय मेट्रिक टन बराबरको मल आयातका लागि बोलपत्र आह्वान गरिएको छ ।
कृषकलाई समयमै र सहज रूपमा मल उपलब्ध गराउन आवश्यक तयारी पूरा भएको सरकारको भनाइ छ । यस प्रयोजनका लागि सरकारले रु २८ अर्ब ८२ करोड १४ लाख बराबरको बजेट विनियोजन गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत असोज मसान्तसम्म एक लाख ९४ हजार ८५ मेट्रिक टन मल आपूर्तिको चरणमा रहेको छ । यसमध्ये कृषि सामग्री कम्पनी लिमिटेडले ३३ हजार ३३८ मेट्रिक टन युरिया आपूर्ति गरिरहेको छ भने साल्ट ट्रेडिङ कर्पोरेसनले ५७ हजार ६७० मेट्रिक टन आपूर्ति गर्दैछ । हालसम्म कृषि सामग्री कम्पनीले युरिया र डिएपी गरी एक लाख १५ हजार ४०५ मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले ७८ हजार ६८० मेट्रिक टन मल आपूर्ति गरिसकेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म देशभर एक लाख आठ हजार ९०८ मेट्रिक टन रासायनिक मल मौज्दात छ । त्यसमध्ये कृषि सामग्री कम्पनीमा डिएपी, युरिया र पोटास गरी ६३ हजार आठ सय मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनमा ४५ हजार १०८ मेट्रिक टन मौज्दात रहेको छ ।
हिउँदे खेतीका लागि आवश्यक रासायनिक मल पर्याप्त मात्रामा मौज्दात रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म एक लाख ३२ हजार ८०७ मेट्रिक टन मल बिक्री भएको समेत मन्त्रालयले जनाएको छ ।





