गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ४० प्रतिशत निर्माण सम्पन्न |



चितवन । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र संघीय सरकारको सहयोगमा रङ्गशाला निर्माण कार्य अघि बढाएको हो ।

महानगरका इन्जिनियर घनश्याम मिश्रका अनुसार हाल रङ्गशालामा प्यारापिट र दुईवटै टावरको दोस्रो तलासम्मको निर्माण कार्य भइरहेको छ । उनले टावरमा वाल निर्माण, फर्मा तथा डण्डी बाँध्ने काम भइरहेकाे जानकारी दिए । उनका अनुसार टावर तीन तल्ले हुने छन् ।

“प्यारापिटको पछाडिपट्टि कोठा निकाल्न ढलानको काम भइरहेको छ । रङ्गशालामा चार वटा प्यारापिट र दुई वटा टावर रहनेछन्,” मिश्रले भने, “हाल दैनिक १२२ जनाले काम गरिरहेका छन् । तिहारका कारण मुस्लिम समुदायका २५–३० जना मात्र सक्रिय छन्, तर छठपछि काम तीव्र गतिमा अघि बढ्नेछ ।”

उनका अनुसार ठेक्का सम्झौताअनुसार हालसम्म ४८ प्रतिशत काम सम्पन्न हुनुपर्ने भए पनि केही ढिलाइ भएको छ ।

धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि रङ्गशाला निर्माणको जिम्मेवारी भरतपुर महानगरलाई हस्तान्तरण गरिएको थियो । हाल हिमालयन कालिञ्चोक बिबिआर जेभीले निर्माणको जिम्मा लिएको छ । रङ्गशाला निर्माणका लागि रु ७८ करोड ५० लाख ९१ हजार १८९ को लागत अनुमान गरिएको छ र काम २०८३ पुस २२ गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

पहिलो चरणको काम सम्पन्न भएपछि अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सकिने महानगरले जनाएको छ । पहिलो चरणमा १५ हजार दर्शक अट्ने प्यारापिट, दुई वटा भिआइपी टावर, पाँच वटा पिच, मैदान, ड्रेनेज, रेलिङ, बाटो र पार्किङ क्षेत्र निर्माण गरिनेछ ।

भरतपुर महानगरपालिका–१५ स्थित २० बिघा १९ कठ्ठा क्षेत्रफलमा फैलिएको यो रङ्गशाला त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयले प्रयोग गर्दै आएको जग्गामा निर्माण भइरहेको हो । अन्तर्राष्ट्रियस्तरका खेल आयोजना गर्न सक्षम सुविधा सम्पन्न रङ्गशाला बनाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्